काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिकहाँ सिफारिस गरिने जानकारी गराएको पुष्टि गरे ।
बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय भएको हो । सचिवालय बैठकले अर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको हो ।
अर्थमन्त्री खतिवडाको राष्ट्रियसभाको पदावधि २० गतेबाट सकिँदैछ । राष्ट्रियसभाको पदावधि सकिएसँगै खतिवडाको मन्त्री पद पनि स्वतः सकिएको छ ।
सरकारको तर्फबाट गरिएको सिफारिशका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ । संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन जना सदस्य नियुक्त गर्ने प्रावधान रहेको छ ।
यसअघि सिफारिशसहित नियुक्त भएका राष्ट्रियसभा सदस्यमा डा खतिवडा, रामनारायण विडारी र बिमला राई पौडेल हुन् । त्यसमध्ये डा खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो ।
त्यस्तै बैठकमा कार्यदलको प्रतिवेदनमा छलफल भई ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।




प्रतिक्रिया