काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बोलेको विषयमा बाहिरिएको तथ्यपूर्ण समाचारको खण्डन गरेका छन् ।
गौतमले अध्यक्ष प्रचण्डका प्रस्ताव फिर्ता हुनुपर्ने जस्ता कुरा आजको सचिवालय बैठकमा राखेको भन्ने समाचारबारे उनको सचिवालयले खण्डन गरेको छ ।
‘आजको सचिवालय बैठकलाई सौहाद्रतापूर्ण तवरले सञ्चालन गर्नुपर्ने चुनौति थियो । आज क.प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने भन्ने कुनै एजेण्डा पनि थिएन । त्यसकारण वामदेव कमरेडलगायतका अन्य नेता कमरेडहरुले सौहाद्रतालाई ख्याल गर्दै कुनै किसिमको उत्तेजक अभिव्यक्ति आजको बैठकमा दिनुभएन’, सचिवालयले भनेको छ, ‘तर, समाचारहरुमा चर्काचर्की भयो, धम्साधम्सी भयो भन्दैभन्दै क.वामदेव गौतमले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने कुरा गरेकोसम्मका कपोलकल्पित कुरा आए । वास्तवमा आजको बैठकमा त्यस किसिमका कुनै कुरा उठेका छैनन् ।’
सचिवालयले आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तर्फबाट पनि प्रस्ताव दर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेपछि बैठकको सौहाद्रतामा अझ बल पुगेको जनाएको छ ।
‘क.प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु क.वामदेव गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उहाँ सतिसालझैँ अडिग हुनुहुन्छ’, विज्ञप्तिमा भनिएको छ ।
यसबीच उपाध्यक्ष गौतमले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीसँगको भेटमा पनि प्रस्ताव फिर्ता नहुने बताइसकेका छन् ।
‘प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवं विधि र पद्धति पक्षधर नेता–कार्यकर्ताको सामूहिक आवाज हो’, विज्ञप्तिमा भनिएको छ, ‘क.केपी ओलीलाई धरातीय यथार्थबाट माथि (हावामा) उडाएर उहाँको सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम तुरुन्त रोकियोस् । उहाँलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्वाइँ गर्ने काम पनि तत्काल बन्द गरियोस् ।’




प्रतिक्रिया