काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ । सचिवालय बैठकको पूर्वसन्ध्यामा उपाध्यक्ष गौतम भेट्न उपप्रधानमन्त्री पोखरेल भैंसेपाटी पुगेका हुन् ।
उपप्रधानमन्त्री पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर पुगेको स्रोतले जानकारी दियो । यसअघि पनि ओलीले गौतमलाई बालुवाटार बोलाएर आफूलाई समर्थन गर्न आग्रह गरेका थिए ।
ओलीले पोखरेलमार्फत आफूलाई सहयोगका लागि आग्रहको सन्देश पठाएको स्रोतले बताएको छ । पोखरेल अोली निकट नेता मानिन्छन् ।
नेकपा सचिवालय बैठकमा पुष्पकमल दाहाल प्रचण्डको पक्षमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् । ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् ।
नेकपाको सचिवालय बैठकमा प्रतिवेदनलाई लिएर आरोप–प्रत्यारोप चलिरहेको छ । भोलि दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । शनिबार बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार पारेका छन् । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राख्न लागेका हुन् ।




प्रतिक्रिया