काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले दोस्रो तहका नेताहरुलाई एकीकरण प्रक्रियामा ल्याउने दाबी गरेका छन् ।
बुधबार उनले पहिलो तहका केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका नेताहरु एकता प्रक्रियामा नआए पनि दोस्रो तहका नेताहरुलाई ल्याउने ठोकुवा गरेका छन् ।
‘पार्टी एकता हुन्छ, ओली र प्रचण्डका कार्यकर्ता ल्याउँछु । उत्तेजनामा आएकाले पनि सोच्न थाल्छन् । हामी कम्युनिष्टहरुले अर्जुन दृष्टिले काम गर्ने हो । परिपक्क किसिमले जाने हो’, उनले भने ।
उपाध्यक्ष गौतमले सर्वोच्च अदालतले दुईमध्य एक निर्णय गर्ने भएकाले के हुन्छ ? भनेर दोधोरमा नपर्न आग्रह गरेका छन् । उनले प्रचण्डलाई एकता प्रक्रियामा ल्याउने बताउँदै केपी शर्मा ओली एकता विरोधी भएको बताए ।
‘सर्वोच्च अदालतले के निर्णय गर्ला ? दुईमध्ये एक निर्णय गर्छ । वैशाख १७ र २७ गते चुनाव भए पनि एकता अभियान चलाइरहनुपर्छ’, उनले भने, ‘केपी ओली कहिल्यै पनि एकताको पक्षमा हुनुहुन्न । उहाँहरु एकता प्रक्रियामा आउनुभएन भने सेनापति त हुनुहुन्छ पछि सेना हुनुहुन्छ ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए इज्जत बढ्ने बताए ।
उनले भने ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान ?’




प्रतिक्रिया