वामदेवको एकता राष्ट्रिय अभियानमा पूर्वमन्त्रीदेखी भ्रष्टाचार आरोपमा पक्राउ परेका पूर्वसांसदसम्म

वामदेवको एकता राष्ट्रिय अभियानमा पूर्वमन्त्रीदेखी भ्रष्टाचार आरोपमा पक्राउ परेका पूर्वसांसदसम्म


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधबार बिहान ललितपुरको धोबीघाटमा आयोजित कार्यक्रमकाबीच उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय घोषणा गरेका हुन् ।

गौतमको एकता अभियानमा एक जना केन्द्रीय सदस्य एवं पूर्वमन्त्री, विघटित प्रतिनिधिसभा सदस्यदेखी भ्रष्टाचार आरोपमा पक्राउ परेका नेता, मेयर र त्रिविका पूर्व उपकूलपतिसम्म सहभागी छन् ।

पूर्वकृषिमन्त्री एवं नेकपा केन्द्रीय सदस्य हरि पराजुली, विघटित प्रतिनिधिसभा सदस्य माया ज्ञवाली, तुलसा थापा, भ्रष्टाचार आरोपमा पक्राउ परेका नेकपा नेता डीबी कार्की, कीर्तिपुरका मेयर रमेश महर्जन, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति प्राडा. हीराबहादुर महर्जन, पूर्वसभासद डीबी कार्की र उपमेयर सरस्वती खड्का, वाग्मती प्रदेश सांसद विनोद खड्कालगायत सहभागी छन् ।

पराजुली लामो समयदेखी वामदेवको साथमा छन् । उनी २०५४ सालमा एमाले बिभाजन हुँदा बामदेवसँगै मालेतिर लागेका थिए । उनी तत्कालिन नेकपा (एमाले)को कोटाबाट सुशील कोइराला नेतृत्व सरकारमा कृषिमन्त्री थिए ।

असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारेर गोठाटार पुगेका पराजुलीले एक महिलामाथि यौनजन्य गतिविधि गरेपछि राजीनामा दिएका थिए । पराजुली कृषि मन्त्री हुँदा वामदेव कोइराला सरकारमा उपप्रधान तथा गृहमन्त्री थिए ।

यस्तै कार्कीले सभासद हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) बनाइदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुबाट पैसा असुलीरहेको बेला रंगेहात पक्राउ परेका थिए ।

पहिलो संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद बनेका कार्कीलाई उनका सहयोगी स्वामी ब्रम्हानन्दसहित अख्तियारको टोलीले पक्राउ गरेको थियो ।