काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सामु आफूले आत्मसमर्पण नगरेको बताएका छन् ।
शनिबार पार्टी अध्यक्ष ओलीले बोलाएको पार्टी संसदीय दलको बैठकमा सहभागी भएका गौतमले प्रेस सल्लाहकार विश्वमणि सुवेदीमार्फत् शनिबार बेलुका आफ्नो चारबुँदे धारणा सार्वजनिक गरेका हुन् ।
उनले ओलीको कार्यशैली गलत रहेको र उनीसामु आफूले आत्मसमर्पण नगरेको बताएका छन् । नेता गौतमले फागुन २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा राखेको बैठक केन्द्रीय कमिटीको बैठक नभएको बताएका छन् । ‘२८ गते बालुवाटार बैठकले गरेका निर्णय फिर्ता लिनै पर्छ,’ गौतमले भनेका छन् ।
पार्टीका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको समूहले फागुन २८ गते ओलीले आफूनिकटका नेताहरुलाई मात्र बोलाएर आफूअनुकूलका निर्णय गरेको हुँदा त्यसलाई स्वीकार नगर्ने बताउँदै आएका छन् ।
उनीहरुले पार्टीका बैठकमा सहभागिताका लागि पहिले फागुन २८ गतेका निर्णय बदर गर्नुपर्ने बताउँदै आएका छन् । त्यसैगरी शनिबारै ओली समूहले वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
तर गौतमले ‘पार्टीभित्र रहेका कमरेडहरुलाई उहाँहरुको अनुपस्थितिमा कुनै कारवाही गर्न मिल्दैन’ भन्ने अडान लिएका छन् । पार्टी विभाजित हुँदा कुनै पक्षतर्फ नलागी एकता अभियान भनेर सुरु गरेका गौतमले केपी ओली एमाले अध्यक्ष भएको हुँदा उनले नेतृत्व गर्ने पक्षलाई समूह भन्न नमिल्ने बताएका छन्।
‘तर उहाँको कार्यशैली गलत छ, उहाँकाअगाडि मैले आत्मसमर्पण गरेको छैन, गर्ने पनि छैन,’ गौतमले भनेका छन् । आफू पार्टी एकता राष्ट्रिय अभियानमै रहेको र सो उद्देश्य पूरा नहुँदासम्म अभियान जारी राख्ने उनले बताएका छन् ।




प्रतिक्रिया