काठमाण्डु – पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले आफूले राखेका शर्त मान्ने लिखित प्रतिबद्धता जनाएमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्न सक्ने संकेत गरेका छन् । निकटस्थ स्रोतका अनुसार गौतमले जनताको बहुदलीय जनवाद, कार्यकारी तथा प्रत्यक्ष निर्वाचित सरकार प्रमुखजस्ता विषयमा लिखित प्रतिबद्धता जनाएमा एकीकृत समाजवादीमा प्रवेश गर्ने संकेत दिएका हुन् ।
यी विषयसँगै गौतमले पार्टीमा वरिष्ठ नेताको हैसियत पनि खोजेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । गौतम नेतृत्वको अभियानसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले वार्ता गरिरहेका बताइन्छ । अनौपचारिक वार्ताका क्रममा गौतमले आफूले राखेका शर्तहरू पालना गर्ने लिखित प्रतिबद्धता आएमा र पदमा कुरा मिलेमा प्रवेश गर्न सक्ने बताएका नेताहरू बताउँछन् ।
गौतमले पाटीभित्र अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछिको वरियता पनि खोजेको बताइन्छ । पहिला गौतमले अध्यक्ष नेपालपछिको वरियता खोजे पनि अनौपचारिक वार्ताका क्रममा खनालपछिको वरियतापछि बस्न तयार भएको वार्तामा सहभागी एक नेताले जानकारी दिए ।
एकीकृत समाजवादीले एमालेलाई देखाउनका लागि भए पनि गौतमलाई शर्तहरू स्वीकारेर प्रवेश गराउने तयारी गरेको अध्यक्ष नेपाल निकट स्रोतले जानकारी दियो । एमालेका वरिष्ठ उपाध्यक्ष भइसकेका गौतम पटक–पटक उपप्रधानमन्त्री र मन्त्री बनिसकेका नेता हुन् । गौतमलाई भित्र्याउन सकिएमा पार्टी संगठन सशक्त बनाउन सकिने एकीकृत समाजवादीको बुझाइ छ ।
यसअघि गौतम एमालेमा भित्रिने प्रयास गरेका थिए । उनले सार्वजनिक रूपमै एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएमा वार्ता गर्न र एमालेमा पुन प्रवेश गर्न आफू तयार रहेको बताएका थिए । तर, अध्यक्ष ओली र सिंगो एमालेले उनको प्रस्तावलाई बेवास्ता गरेपछि एकीकृत समाजवादीमै भए पनि प्रवेश गर्ने तयारी गरेका हुन् । आफ्नो फेस सेभिङका लागि शर्तहरू तेस्रयाएको स्रोत बताउँछ ।
गौतम र उनी नेतृत्वको अभियानसँग अनौपचारिक वार्ता सकारात्मक भए पनि औपचारिक वार्ताको मिति भने तय भइनसकेको एकीकृत समाजवादी पार्टीले जनाएको छ ।
यसबारे औपचारिक प्रतिक्रिया दिन भने दुवै पक्षले मानेनन् । उनीहरूले अनौपचारिक रूपमा भने एकताबारे प्रयास भइरहेको र सकारात्मक रहेको जानकारी दिए ।




प्रतिक्रिया