नेकपा एसमा वामदेव ‘पिंजडाको बुढो बाघ’ जस्तै !

नेकपा एसमा वामदेव ‘पिंजडाको बुढो बाघ’ जस्तै !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) मा हालै प्रवेश गरेका वामदेव गौतमले अहिले कुनै जिम्मेवारीमा छैनन् ।

पार्टीमा तेस्रो वरियतामा भित्रिएपनि २ साता बितिसम्म उनीसँग भएको सहमतिबमोजिम जिम्मेवारी पाएका छैनन् । उनलाई पार्टीको संगठन विभागको जिम्मा दिने भनिएको थियो ।

पार्टीका एक नेता भन्छन्, ‘वामदेवलाई त भित्रियाइयो तर अहिले उनी घरको न घाटको अवस्थामा छन् ।’ २ साउनमा गौतम तामझामका साथ नेकपा एसमा प्रवेश गरेका थिए ।

पटक पटक एमालेमा जान गौतमले खुट्टा उचाले पनि ओलीले रुचि नदेखाएपछि एमालेले बेवास्ता गरेको निष्कर्षमा पुगेर नेकपा अन्ततः नेकपा एसमै जान तयार भए ।

‘जसले पद दिन्छ, म त्यतै जान्छु’ भन्दै आएका गौतमले नेकपा एसमा वरिष्ठ नेता स्वीकार गर्दै प्रवेश गरेका हुन् । उनी नेकपा एसमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा छन् । त्यसपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे चौथो वरीयतामा छन् ।

नेकपा विभाजन पछि ‘नेकपा एकता राष्ट्रिय अभियान’ गठन गरेका उनी नेकपा एससँग औपचारिक र अनौपचारिक वार्तापछि वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

१८ भदौ २०७८मा गौतमले नेकपा (एमाले) छाडेपछि नेपालका कम्युनिस्ट पार्टीबीच एकता हुनुपर्ने भन्दै अभियान गठन गरेका थिए ।

केपी शर्मा ओलीको तत्कालीन नेकपा सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई २०७७ असोजमा राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।

कहाँ अड्कियो हलो ?

पार्टीमा गौतमको प्रवेशपछि उनीसँगै रहेका नेताहरूको कार्यविभाजनबारे छलफल भइरहेको नेकपा एसका एक नेताले बताए । ‘गौतमलाई जिम्मेवारी दिने विषयमा अहिले छलफल चलिरहेको छ’ उपाध्यक्ष बेदुराम भुसालले भने, ‘ नेताहरूको जिम्मेवारी बाँडफाँट मिलाउन बाँकी छ ।’

तर पार्टी प्रवेश गरेको झण्डै दुई साता हुन लाग्दा पनि गौतमले पूर्वसहमतिअनुसार संगठन विभागको जिम्मेवारी पाएका छैनन् ।

अध्यक्ष माधवकुमार नेपाल गौतमलाई संगठन विभागको नेतृत्व दिन चाहँदैनन् । अहिले संगठन विभागको प्रमुखमा अध्यक्ष नेपालका विश्वासिला महासचिव भुसाल छन् । भुसालको जिम्मेवारी खोसेर गौतमलाई दिन नेपाल अनकनाएका छन् ।

तर महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरू गौतमसँग भएको सहमतिअनुसारको पद दिन ढिलाई गर्न नहुने पक्षमा छन् । यस्तै सम्मानित नेता झलनाथ खनालपनि गौतमलाई जिम्मेवारी दिएर पार्टीलाई गति दिनुपर्ने पक्षमा छन् ।

नेकपा एसमा प्रवेश गरेको पाँचौ दिन ७ साउनमा कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा गौतमले पार्टी निर्माणको लागि आफूले काम गर्न चाहेको बताएका थिए ।

उनले भनेका थिए, ‘मलाई काम दिनुस्, कामसहितको पद सिर्जना गरिदिनुस् । यदि तपाईँले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईँहरूसँग बस्न सक्दिनँ ।’

गौतमलाई प्रवेश गराएपनि अध्यक्ष नेपाल घेराबन्दीमा परेका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दा लागेपछि उनीविरुद्ध पार्टीकै नेताहरूले प्रहार गरिरहेका छन् । खनाललगायतका नेताहरूले नेपाललाई नेतृत्वबाट अलग हुनुपर्नेमा जोड दिएका छन् ।