बाम एकताको प्रयास : तत्कालिन नेकपाका ५ सचिवालय सदस्यको ‘पुनर्मिलन’

बाम एकताको प्रयास : तत्कालिन नेकपाका ५ सचिवालय सदस्यको ‘पुनर्मिलन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच सचिवालय सदस्यबीच आइतबार सामूहिक भेटवार्ता भएको छ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धनलगायतका विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी भएको उनले बताएका छन् । तत्कालीन नेकपामा ९ सदस्यीय सचिवालय समितिमा थियो । जसमा यी पाँच नेताबाहेक केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल पनि थिए ।

केहि दिनअघि नयाँ पार्टी नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका वामदेव गौतम पहिल्लो समय कम्युनिष्ट नेताहरुसँगको घेटघाटमा निस्किएका हुन् । उनले सोहि भेटघाटअन्तर्गत तत्कालिन नेकपाका बहुमत सचिवालय सदस्यसँग भेटवार्ता गरेका हुन् ।

यसअघि बिहीबार पनि नेता गौतमले माओवादी अध्यक्ष प्रचण्ड, माधव नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । सो क्रममा उनले तीनै शीर्ष नेतालाई एउटै प्रस्ताव राखेका थिए–कम्युनिष्ट एक हुनुपर्यो ।

नेता गौतमको ‘कम्युनिष्ट एक हुने’ प्रस्तावमा एमाले अध्यक्ष ओली मौन बसेका थिए भने प्रचण्ड र माधव नेपालले सकारात्मक जवाफ दिएका थिए ।