फुटको साक्षी नबन्ने वामदेव गौतमको घोषणा, पार्टी एकताको प्रयासमा लागिरहने प्रतिवद्धता

फुटको साक्षी नबन्ने वामदेव गौतमको घोषणा, पार्टी एकताको प्रयासमा लागिरहने प्रतिवद्धता


काठमाण्डु – नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफु पार्टी फुटको साक्षी बस्न नसक्ने बताएका छन् । उनले आफु प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद भङ्ग गरेपछि ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष कसैमा पनि नलागेको स्पष्ट पारेका छन् छन् ।

गौतमले आफु अन्मित समयसम्म पनि पार्टी एकताको पक्षमा नै रहेको बताएका छन् । गौतमले भनेका छन् ‘फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुंदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु’, भनेका छन् ।

उनले आफ्ना प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत भनेका छन्, ‘मन्त्रिपरिषद्ले संसद भङ्ग र मध्यवधि निर्वाचनको सिफारिस गरेपछि मैले सम्माननीय राष्ट्रपतिलाई टेलिफोनबाटै त्यस्तो सिफारिस स्वीकृत नगर्नुस् भन्न चाहेको थिएं । तर, उहांसंग टेलिफोनमा कुरा गर्न सम्भव भएन । त्यसपछि मैले उहांका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीमार्फत भनेको थिएं, ‘यदि उहांले मन्त्रिपरिषद्को सिफारिस बमोजिमको विषयलाई जारी गर्नुभयो भने त्यो दूर्भाग्यपूर्ण हुनेछ । उहांले यसलाई एकपटक मन्त्रिपरिषद्मै फर्काइदिन उपयुक्त हुन्छ । यसका निम्ति मेरो विनम्र अनुरोध छ ।’

गौतमले भनेका छन्, ‘तर, राष्ट्रपतिले विज्ञप्तिमार्फत मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृत गर्नुभएको समाचार सुने । त्यसपछि त्यो दुःखद् घटना हो भन्ने निश्कर्षमा पुगे । त्यसपछि संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गैर संवैधानिक कदम हो भन्ने धारणासहित मैले आइतबार नै विज्ञप्ति जारी गरेँ ।

अब फुटको घोषणा गर्नमात्रै बांकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरेँ ।’ उनले केपी ओलीले गरेको भेला होस् वा अरुहरुले गरेको भेला नै किन नहोस ती सबै पार्टी फुटाउनका निम्ति भइरहेको पनि बताएका छन् । ‘म फुटको साक्षी बस्न सक्दिन । म यो पार्टी एकीकरण गराउने मध्येको नेता हुं । त्यसैले अहिले पनि एकताको पक्षमा म छु । संसद भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु । तर, दुबैतिरका भेलामा मेरो उपस्थिति हुंदैन । मैले पहिले पनि गुटहरुको भेलामा नजाने भन्दै आएको हुं’, गौतमको भनाई छ ।

प्रचण्ड पक्ष र ओली पक्षले आ आफ्नो समुहका भेला गर्दा गौतम र गृहमन्त्री रामबहादुर थापा भने कुनै पनि पक्षको भेलामा सहभागी छैनन् । गौतमलाई प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्री बनाउन सक्ने प्रस्ताव समेत यसअघि गरेका थिए । त्यसयता उनि खुलेर सरकारको विरोध र पक्षमा देखिएका थिएननन् ।