अब बामदेव गौतमको ‘अग्निपरीक्षा’

अब बामदेव गौतमको ‘अग्निपरीक्षा’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र माक्सवादको सैद्धान्तिक व्याख्यामा प्रखर मानिने आदर्शवादी नेता घनश्याम भुसालबाट धेरै नेता, कार्यकर्ता र सर्वसाधारणले अपेक्षा गरेका थिए । तर उनी कृषि तथा पशुपन्छी विकासमन्त्री भएपछि खरो उत्रिन सकेनन् ।

हरेक वर्षझै उनी मन्त्री हुँदा समेत मलखादको समस्या कायमै रह्यो । उखु किसानले साहुबाट भुक्तानी नपाएको भन्दै काठमाडौं नै आएर आन्दोलन गर्नुप¥यो । सरकार र पार्टीभित्रका सामान्य कुरामा पनि अभिव्यक्ति दिने खुला स्वभावका भुसाल मन्त्री भएपछि गुपचुप छन्, किसानका ठूल्ठूला गुनासामा पनि चुइँक्क बोल्दैनन् । मन्त्री भुसालको आदर्श खोक्रो देखिँदैछ ।

नेकपा उपाध्यक्ष बामदेव गौतम नेपाली कम्युनिस्ट आन्दोलनका चर्चित नेता हुन् । राष्ट्रियताको मुद्दामा माले विभाजन गर्दा होस् वा प्रतिनिधिसभा निर्वाचनअघि तत्कालीन नेकपा एमाले र माओवादी गठबन्धन हुँदै पार्टी एकता गराउँदा होस्, बामदेव सक्रिय छन् ।

हालै नेकपामा विवाद चर्किंदै जाँदा उपाध्यक्ष गौतमले सहमतिका लागि ६ बुँदे खाका ल्याए । त्यसकै वरिपरि नेकपामा सहमतिको अभ्यास भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने भनेर नेकपाभित्र उठेको आवाज मत्थर भएको छ ।

पार्टी राजनीतिमा निर्णायक र सक्रिय भएपनि उपाध्यक्ष गौतमका लागि गत प्रतिनिधिसभा निर्वाचन अप्रिय बन्यो । बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमसँग बामदेव गौतम ७५३ मतान्तरले पराजित भए । सञ्जयले ४४ हजार ८२९ मत ल्याउँदा वामदेवले ४४ हजार ७६ मतमै सीमित हुनुप¥यो ।

चुनावमा झड्का लागेपछि वामदेव संसदीय अभ्यासमा सहभागी हुन नपाउने भए । उनले थुप्रै सांसदलाई राजीनामा गराएर उपनिर्वाचनबाट प्रतिनिधिसभा प्रवेशको उपाय खोजे । तर सफल हुन सकेनन् । उनी प्रधानमन्त्री, मन्त्री बन्न नसक्ने अवस्थामा भएपनि नेपाल विकासको हुटहुटी व्यक्त गरिरहन्थे ।

२०७६ मंसिर ८ गते काठमाडौंमा आयोजित ‘विश्व व्यवस्था र चीनः नेपालमा समाजवादको सम्भाव्यता’ विषयक कार्यशालामा बोल्दै गौतमले भनेका थिए, ‘मलाई २ वर्ष मात्रै प्रधानमन्त्री बनाए १० वर्षमा चीनलाई उछिन्छौं ।’ उतिबेला गौतमले राष्ट्रियसभा सदस्य समेत प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न लविङ गरिरहेका थिए । तर यो प्रयास हालसम्म सफल हुन सकेको छैन ।

उनले त्यतिबेला कार्यक्रममा भनेका थिए, ‘मलाई २ वर्ष मात्रै प्रधानमन्त्री बनाए झन् छिटो ५ वर्षमा नेपालमा समाजवाद आउँछ । १० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिन्छौं । त्यो ग्यारेन्टी नेकपाले लिनुपर्छ । नेपालमा समाजवाद अवश्यम्भावी छ ।’

उपाध्यक्ष गौतम अब राष्ट्रियसभा सदस्य बन्ने लगभग सुनिश्चित भएको छ । नेकपा सचिवालय बैठकले यसअघि नै गरिसकेको निर्णय सरकारले कार्यान्वयन गर्दै गौतमलाई राष्ट्रियसभा सदस्य मनोनितका लागि सिफारिस गर्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारको सचिवालय बैठकमा गराएका छन् ।

यससँगै गौतम मन्त्रालय रोजेरै मन्त्री हुने चर्चा समेत चलेको छ । सरकारमा प्रवेश गरेसँगै गौतमले आफ्नो विकास र समृद्धिको हुटहुटीलाई कार्यान्वयन गर्ने अवसर पाउने छन् । प्रधानमन्त्री नै नभए पनि उपाध्यक्ष गौतम सरकारमा शक्तिशाली मन्त्री रहने छन् । उनलाई उपप्रधानमन्त्रीसहित अर्थ वा गृहमन्त्रीको जिम्मेवारी दिने चर्चा नेकपाभित्र छ ।

उपाध्यक्ष गौतमले सार्वजनिक सम्बोधनमा २ वर्ष मागेका थिए । प्रधानमन्त्री ओली नेतृत्वको सरकारको कार्यकाल अझै २ वर्षभन्दा बढी समय बाँकी छ । यसबीच बामदेवले आफ्नो क्षमता प्रदर्शन गर्ने पर्याप्त मौका पाउनेछन् । बामदेवले सार्वजनिक अभिव्यक्तिमा मात्रै होइन, विकास र समृद्धिलाई समेटेर पुस्तक नै प्रकाशित गरेका छन् ।

गौतमले ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तकमा नेपालको विकासको सैद्धान्तिक र शाब्दिक योजना प्रस्तुत गरेका छन् । गौतमले पुस्तकमा लिपिवद्ध गरेको योजना सरकारमा गएर कार्यान्वयन गराउन सक्लान् ? नेपाललाई विकास र समृद्धितिर डो¥याउन सक्लान् ? अथवा कृषिमन्त्री घनश्याम भुसालजस्तै कोरा सैद्धान्तिक गफमै सीमित होलान् ? यी प्रश्नको जवाफका लागि उपाध्यक्ष गौतमको प्रस्तुतीलाई पर्खिनैपर्छ ।

नेकपा सचिवालयमा उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सांसद थिएनन् । श्रेष्ठ राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित भइसकेका छन् भने गौतम मनोनित हुँदैछन् । अब नेकपा सचिवालयमा सबै सदस्य सांसद बन्दैछन् । उमेरका हिसाबले गौतमको राजनीति उत्तराद्र्धमा छ । संसदमा स्पष्ट बहुमत भएको सरकारको शक्तिशाली मन्त्री बन्नुका हिसाबले गौतमका लागि क्षमता प्रदर्शन गर्ने यो स्वर्णिम मौका बन्नसक्छ ।

गौतमले प्रभावकारी क्षमता प्रदर्शन गर्न सके भने आगामी निर्वाचनमा नेकपाले समेत त्यसबाट लाभ लिन सक्ने छ भने घनश्याम भुसालकै हालत भयो भने नेकपा जनस्तरमा बदनाम हुनेछ । निर्वाचनका बेला आकर्षक मानिएका प्रधानमन्त्री ओलीले सन्तोषजनक प्रस्तुती देखाउन नसकेको गुनासो नेकपाभित्रै सुनिन्छ । अब उपाध्यक्ष गौतमको ‘अग्निपरीक्षा’ सुरु हुँदैछ ।