काठमाण्डु – नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । गौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् ।
राजीनामापत्रमा उनले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभाको निर्वाचन २०७४ मा एमाले र नेकपा(माओवादी केन्द्र)को साझा घोषणापत्रलाई कार्यान्वयन नगरेको तथा सरकारको कामलाई पटकपटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि सुधार गर्न नसकेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, “म आफैँ सङ्लग्न भएर निर्माण भएको नेकपा(एमाले)मा तपाइँकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिबाट पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।”
राजीनामापत्रमा जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नभएको, कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यताका विपरित जनताको अत्याधिक बहुमतलाई लत्याउँदै २०७५ पुस ५ र २०७८ जेठ ७ गते दुई दुई पटक संविधान विपरित जनताद्वारा निर्वाचित सदन भङ्ग गरिएको उल्लेख छ ।
यसअघि माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरेलगत्तै उनले आफ्नो समर्थन रहने बताएका थिए। तर, नयाँ पार्टीले जनताको बहुदलीय जनवाद (जबज) विचार नबोक्ने भनेपछि असन्तुष्टि जनाएका थिए। एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरेपछि उनी एमाले छाड्न तयार भएका थिए। उनी अब एकीकृत समाजवादी पार्टीमा जोडिने उनी निकट नेताहरुले बताएका छन्।





प्रतिक्रिया