जस्केलाबाट पस्न खोज्ने वामदेवलाई ईश्वर पोखरेलको काउण्टर !

जस्केलाबाट पस्न खोज्ने वामदेवलाई ईश्वर पोखरेलको काउण्टर !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र संविधान संशोधनको विषयले निकै चर्चा पाएको छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने र प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने शीर्ष नेतृत्व अग्रसर देखिएपछि पार्टीका नेताहरुले विरोध जनाएका छन् ।

वामदेवको जस्केलाबाट संसद् प्रवेश गर्ने हठविरुद्ध नेकपाभित्रै चर्को विरोध भएको हो  । शनिबार बसेको नेकपा सचिवालय बैठकमा गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटाबाट राष्ट्रिय सभामा लैजाने सहमति भएको थियो ।

राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुन नपाउने संवैधानिक व्यवस्था पनि परिवर्तन गर्न नेकपाले कार्यदल बनाएको थियो । कार्यदलमा माधव नेपाल संयोजक, सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेका थिए । तर, नेम्वाङ र देवकोटाले विरोध गरेपछि कार्यदल नै भताभुङ्ग भएको थियो । नेम्वाङ र देवकोटाले संविधान संशोधन गर्ने प्रस्तावको विरोध जनाएका छन् ।

त्यस्तै सचिवालय सदस्य ईश्वर पोखरेलले संविधान संशोधनलाई ढाँट–छलको संज्ञा दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले संविधान संशोधन गर्न नहुनेभन्दै आपत्ति जनाएका हुन् ।

रक्षामन्त्रीसमेत रहेका पोखरेलले ट्विट गर्दै भनेका छन्, ‘अभ्यास,अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएकाभित्रैबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिदैछ । मानिसहरू उदेक मान्दैछन् !’

‘केका लागि संशोधन !,’ भनेर आश्चर्य प्रकट गर्दै उनले प्रश्न गरेका छन्, ‘खराखरी बहस गर्नेबेला आएजस्तो छ ! कुरा लुकाएर, ढाँटछल गरेर कति दिन चल्छ ? कसरी चल्छ ?’

उनले ‘राजनीति गरिन्छ तर जुवा खेलिन्न’ भन्दै जस्केलाबाट पसेर प्रधानमन्त्री बन्ने मनोकामना पूरा हुन नदिनेतर्फ सङ्केत गरेका छन् ।