काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले महाकाली नदीको मुहान लिम्पियाधुरा हो भनेर प्रष्ट पार्नुपर्छ भन्दा आफुलाई कारबाही भएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको स्थायी बैठकमा गौतमले त्यो भन्दा आफुलाई कार्वाही भएको र त्यसैका कारण पार्टी समेत फुटेको धारणा राखे । उनले आफूलाई न्याय दिन नेतृत्वको ध्यानआकर्षण समेत गराए ।
‘महाकाली सन्धि गर्ने क्रममा महाकाली नदीको मुहान लिम्पियाधुरा भनेर प्रष्ट पार्नुपर्छ भन्दा ममाथी कारवाही भयो अहिले आएर त्यो प्रमाणित भएको छ । त्यसबेला मलाई कारबाही गरेर गल्ती गरेको भनेर पार्टी नेतृत्वले न्याय दिओस् ।’ गौतमले वैठकमा भने ।
पुर्व गृहमन्त्री समेत रहेका नेता गौतमले भारतसंग वार्ता र छलफलबाटै सीमा समस्या समाधान गर्नुपर्ने भन्दै वार्ता गर्न नमाने दबेर बस्नु नहुने र विकल्पमा छलफल गर्नुपर्ने धारणा राखेका छन् ।
नेपाल र भारतबीच २९ माघ २०५२ मा महाकाली सन्धि भएको थियो । उक्त सम्झौता गर्ने बेला एमालेका महासचिव माधव नेपाल थिए । महाकाली सन्धीलाई त्यतिवेला गौतमले ‘राष्ट्रघात’ को संज्ञा दिएका थिए । हालका प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव नेपाललाई समर्थन गरेका थिए ।
नेकपामा एमालेमा सन्धिलाई अनुमोदन गर्ने निर्णय केन्द्रिय समिति वैठकले गरेको थियो । तर पार्टीको ह्विप उल्लंघन गर्दै गौतम समुहका नेताले मतदान नगरेपछि एमालेमा चर्को विवाद भएको थियो । त्यसपछि एमालेले गौतममाथी कार्वाही गर्ने निर्णय गरेपछि २०५४ साल फागुनमा एमाले औपचारीक रुपमा विभाजन भएको थियो ।




प्रतिक्रिया