काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउन सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार सांझ प्रधानमन्त्री ओली र गौतमबीच छलफल भएको थियो । प्रधानमन्त्री निकट स्रोतकाअनुसार प्रधानमन्त्री ओली गौतमलाई राष्ट्रियसभामा पठाउन सहमत भएका हुन् । गौतम राष्ट्रियसभामा जाने भएसंगै अर्थमन्त्री युवराज खतिवडाको वर्हिगमन निश्चित भएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा अर्थमन्त्री खतिवडालाई पठाउने चाहना व्यक्त गरेपछि आफुलाई राष्ट्रियसभामा लिने पार्टीको निर्णय कार्यान्वयन हुनुपर्ने गौतमले बताएका थिए । प्रधानमन्त्री ओलीले बुधबार सांझ बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसंग समेत छलफल गरेका थिए । छलफलमा अध्यक्ष प्रचण्डले पनि गौतमलाई राष्ट्रियसभामा पठाएर पार्टीको निर्णय लागु गर्न आग्रह गरेका थिए ।
प्रचण्डसंगको छलफलपछि प्रधानमन्त्री ओलीले बुधबार राति नै गौतमलाई बालुवाटार बोलाएका थिए । गौतम र प्रचण्डसंगको छलफलपछि नेकपाको सचिवालय बैठक समेत बोलाउन नेताहरु सहमत भएका छन् । नेकपाको सचिवालय बैठक विहीबार बिहान ११ बजे बालुवाटारमा बस्ने तय भएको छ । बिहिवारको सचिवालय बैठकमा गौतमलाई राष्ट्रियसभामा पठाउने आधिकारीक निर्णय गर्ने तयारी छ ।
राष्ट्रियसभामा अहिले एउटा सीट रिक्त छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने यो सीटमा डा. खतिवडालाई नै निरन्तरता दिने र अर्थमन्त्रालय उनैको जिम्मा लगाउने प्रधानमन्त्री ओलीको चाहना भएपनि अन्तितमा गौतमले बाजी मार्ने भएका छन् । अर्थमन्त्री खतिवडाको कार्यकाल यही भदौ २० गते सकिदैछ ।
गौतमले प्रधानमन्त्री ओलीसंगको भेटमा आफुलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री दिनुपर्ने समेत बताएको स्रोतले बताएको छ । प्रधानमन्त्री ओली गौतमलाई सरकारमा सामेल गराएर मन्त्रिपरिषद समेत पुर्नगठन गर्ने तयारीमा लागेको स्रोतको दावी छ । त्यसबारेमा उनले अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुसंग समेत परामर्श गरिसकेका छन् ।




प्रतिक्रिया