काठमाण्डौं, १३ असार – वृक्षारोपण दिवसको अवसर पारेर राजधानीको कोटेश्वरदेखि कलंकीसम्मको सडक किनाराका दुवैतर्फ वृक्षरोपण गरिने भएको छ ।
आगामी आर्थिक वर्ष २०७६–०७७ लाई वृक्षारोपण वर्ष बनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयले शनिबार (भोलि) वृक्षरोपण गर्न लागेको हो ।
वृक्षरोपण शनिबार बिहान ८ः०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच कोटेश्वरमा उदघाटन गर्ने भएका छन् । त्यस क्रममा सभामुख कृष्णबादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु लगायतले पनि वृक्षरोपण गर्ने कार्यक्रम रहेको छ ।
नौ क्लष्टरमा वृक्षरोपण
वृक्षारोपण कार्यक्रम व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न नौ स्थानमा क्लस्टर निर्धारण गरेको छ ।
जसमा कोटेश्वरदेखि बालुकुमारीसम्म, बालुकुमारीदेखि ग्वार्कोसम्म, ग्वार्कोदेखि बी एण्ड बी अस्पताल अगाडिसम्म, बी एण्ड बी अस्पतालदेखि सातदोबाटोसम्म, सातदोबाटोदेखि महालक्ष्मीस्थानसम्म, महालक्ष्मीस्थानदेखि एकान्तकुनासम्म, एकान्तकुनादेखि बागडोलसम्म, बागडोलदेखि बल्खुसम्म र बल्खुदेखि कलंकीसम्म नौ वटा केन्दू तोकिएका छन् ।
कुन–कुन प्रजातिका विरुवा रोपिन्छन् ?
वृक्षारोपणका अवसरमा शनिबार चक्रपथको कोटेश्वरदेखि कलंकीसम्म ३ हजार बढी बिरुवा रोपिनेछन् । जसमा हालसम्म पत्ता लागेकोमध्ये संसारकै सबैभन्दा पूरानो प्रजाति मानिएको चिनियाँ गिन्कोसहित असारे फूल, तेजपत्ता, कल्की, राजवृक्ष, कपुर, पावलेजस्ता बिरुवा छन् ।
उत्सवका रुपमा वृक्षरोपण
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल सरकारको निर्णयअनुसार भोलिबाट सुरु हुने वृक्षरोपण अभियान एक वर्षसम्म जारी रहने बताए । उनले आगामी एक वर्षलाई वृक्षारोपण उत्सवका रुपमा मनाइने उल्लेख गरे । आगामी एक वर्षभित्र काष्ठ–गैरकाष्ठ, फलफूल तथा जडिबुटीका गरी करिब पाँच लाख बिरुवा रोप्ने तयारी भएको बताए ।
देशभरका सरकारी नर्सरीहरुमा हाल करिब दुई करोड भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रहेको बताउँदै उनले बाँकी बिरुवा निजी क्षेत्रका नर्सरीमा रहेको र उनीहरुसँग खरिद गरिने जानकारी दिए । उनले एक वर्षभित्र रोपिएका सबै बिरुवाको अखिभेलसमेत राखिने स्पष्ट पारे ।




प्रतिक्रिया