नेपाल–चीनबीचको पारवहन सम्झौता कार्यान्वयन आयो, रेल्वेको म्याद ५ वर्ष थप

नेपाल–चीनबीचको पारवहन सम्झौता कार्यान्वयन आयो, रेल्वेको म्याद ५ वर्ष थप


काठमाडौं – नेपाल–चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ । पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चार सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह गरी सात वटा बन्दरगाहा प्रयोग गर्ने बाटो खुलेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले चीनका तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ गरी चार सामुद्रिक बन्दरगाह नेपालले प्रयोग गर्न सकिने बताए ।

त्यसैगरी तीन सुख्खा बन्दरगाहहरु लन्झाउ, ल्हासा र सिगात्सेपनि नेपालले प्रयोग गर्ने बाटो खुलेको छ । यहि जनवरी १ बाट पारबहन सम्झौता कार्यान्वयनमा आएको हो ।

चीन तर्फका ६ वटा नाकाहरु प्रयोग गर्ने सहमति पनि भएको छ । रसुवा र तातोपानी (कोदारी) नाका यसअघि नै सञ्चालनमा आइसकेका छन् भने हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका व्यपारका लागि नेपालले प्रयोग गर्न सक्नेछ ।

भारतसँग भएको पारबाहन सम्बन्धी सन्धि पनि तत्कालका लागि नविकरण भएको छ । सचिव अर्यालले सन्धिमा आवश्यक नयाँ कुरा थप गरेर पुनः सन्धि गर्ने तयारी मन्त्रालयले पुरा गरेको बताए । नयाँ सन्धि भएपछि नेपालले भारतको आन्तरिक जलमार्ग प्रयोग गरेर आयात निर्यात गर्न सक्नेछ । त्यसैगरी नेपाली ध्वजाबाहक पानी जहाज भारतीय आन्तरिक जलमार्गमा सञ्चालन गर्न पनि बाटो खुल्नेछ ।

सचिव अर्यालका अनुसार भारतको जलमार्गमा रहेका आन्तरिक तीनवटा टर्मिनलहरु साहेबगञ्ज, कालुघाट र बाराणसीबाट व्यापारिक वस्तुहरु आयात निर्यात गर्न सकिनेछ भने नेपालको ब्यापार लागत कम हुन्छ । भारतसँगको रेल्वे सम्झौताको म्याद पनि ५ वर्षका लागि थप भएको छ । नेपालले विराटनगर, वीरगञ्जबाट भारतको कोलकत्ता र हल्दियासम्म नेपाली रेल सञ्चालन गर्ने सम्बन्धमा सैद्धान्तिक सहमति भएको उनले बताए ।