काठमाण्डु- भारतको बंगालको खाडीमा न्यून चापीय प्रणालीका कारण उत्पन्न हुने चक्रवाती आँधीको असर नेपालमा पनि हुने भएको छ ।
भारतीय अधिकारीहरूले यो शक्तिशाली चक्रवातलाई ‘रेमल’ भनेका छन् । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न यो पहिलो चक्रवात हो ।
अधिकारीहरूका अनुसार आज आइतबार मध्यरातमा पश्चिम बंगालको सागर टापु र बंगलादेशको खेपुपाराको बीचमा आँधी अवतरण गर्नेछ ।
पश्चिम बंगालको क्यानिङबाट करिब ८१० किलोमिटर दक्षिणमा बंगालको खाडीमा रहेको यो प्रणाली २ मई बिहानसम्म चक्रवाती आँधीमा केन्द्रित हुने सम्भावना रहेको भारतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उत्तर दिशामा सर्दै यो प्रणाली आज आइतबार २६ मई आइतबार साँझसम्म गम्भीर चक्रवाती आँधीमा केन्द्रित हुने जनाइएको छ । यो चक्रवाती आँधीले आइतबार मध्यरातमा पश्चिम बंगाल र बङ्गलादेशको सागर टापु र खेपुपारा बीचको तटहरू पार गर्नेछ ।
मौसम प्रणालीले पश्चिम बंगालको तटीय जिल्लामा २६ र २७ मईमा भारी वर्षा ल्याउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम कार्यालयले यी दुई दिन कोलकाता दक्षिण र उत्तर २४ परगना, पूर्व मेदिनीपुर र हावडा जिल्लाहरूमा भारी वर्षा हुने चेतावनी दिएको छ ।
विभागले ७०देखि एक सय किमी प्रतिघण्टा गतिमा हावा चल्ने पनि चेतावनी दिएको छ । साथै उत्तरी बंगालको खाडीको समुन्द्रमा नजान माछा मार्नेहरूलाई चेतावनी दिएको छ ।
नेपालमा पनि असर
चक्रवातबाट भारत र बंगलादेशका केही जिल्ला प्रभावित हुनुका साथै उत्तर–पूर्व–उत्तर हुँदै बहने र यसको असर नेपालमा पनि पर्ने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘रेमल’ चक्रवातको असर नेपालमा सीधा नपर्ने भए पनि यसका बाहिरी घेराका केही बादल नेपालसम्म आउन सक्ने र त्यसको असरले बादल लाग्ने र सामान्य पानी पर्ने सम्भावना छ ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ । कोशी प्रदेशको तराईका भूभाग तथा मधेश प्रदेशका भूभागहरूमा हावाहुरीको समेत सम्भावना छ ।
मौसमविद् चिरञ्जीवी भेटवालका अनुसार सोमबार र मंगलबार यसको सामान्य प्रभाव नेपालमा देखिने र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मंगलबारदेखि प्रभाव कम हुँदै जाने छ ।
कोलकता विमानस्थल बन्द
‘रेमल’ चक्रवातको प्रभावले २६ र २७ मई पश्चिम बंगाल र ओडिशाका तटीय जिल्लामा अत्यधिक वर्षा हुने सम्भावना छ । भारतको कोलकता विमानस्थल आइतबार दिउँसोदेखि २१ घण्टाका लागि उडान-अवतरण बन्द गरिएको छ । यसबाट झण्डै ४०० उडान–अवतरण प्रभावित हुने अनुमान छ ।
२०८० वैशाखमा बंगालको खाडीमा ‘मोखा’ नामको चक्रवात विकसित भएको थियो । त्यसअघि २०७८ सालमा अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगालको खाडीमा अर्को चक्रवात ‘यास’ विकसित भएको थियो ।
प्रि–मनसुन अवधिको मई महिनामा आएका यी दुवै चक्रवातको प्रभाव नेपालमा पनि परेको थियो । ‘ताउ–ते’बाट नेपालको पश्चिमी क्षेत्र र ‘यास’बाट पूर्वी क्षेत्र बढी प्रभावित भएका थिए ।




प्रतिक्रिया