बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान


काठमाण्डु- बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचिमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको पत्र नेपाल सरकारलाई पठाएपछि सो समस्या समाधान भएको हो ।

बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न बङ्गलादेश जान नेपाल सरकारबाट १९ जना एमबिबिएस र ३ जना बिडिएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश पठाएको थियो । तर, अन्तिम सूचिमा १२ जनाको मात्रै नाम आएको थियो। यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपालस्थित बङ्गलादेशी राजदूतसँग छलफल गरेकी थिइन् ।

यही सम्बन्धमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई कूटनीतिक नोट पठाएकोमा त्यसको जवाफमा बङ्गलादेशले छुटेका ८ जनालाई समेत समावेश गर्ने निर्णय भएको पत्र कूटनीतिक नोट मार्फत नै जानकारी दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विभिन्न कारणले उत्पन्न समस्याले विद्यार्थीहरूमा अन्यौलता छाएकोमा सो समस्या समाधान गर्न अहोरात्र खटिने सबै जनाप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement