बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश खैरुल हक पक्राउ

बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश खैरुल हक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश एबिएम खैरुल हक पक्राउ परेका छन् ।

डिटेक्टिभ शाखा (डिबी) प्रहरीको टोलीले उनलाई स्थानीय समय अनुसार आज बिहान ८ बजेतिर धानमन्डी निवासबाट पक्राउ गरेको हो ।

डिबीका संयुक्त आयुक्त नासिरुल इस्लामले पूर्व प्रधानन्यायाधीश एबिएम खैरुल हकको गिरफ्तारीको पुष्टि गरेका छन् ।

“हो, हामीले उहाँलाई पक्राउ गरेका छौँ”, इस्लामले भने, “उहाँविरुद्ध तीनवटा मुद्दा छन् ।”

खैरुल हकले बङ्गलादेशको १९औँ प्रधानन्यायाधीशका रूपमा सेवा गरेका थिए ।

अगस्ट १८ मा सर्वोच्च अदालतका वकिल मुजाहिदुल इस्लाम शाहिनले खैरुलविरुद्ध भ्रष्टाचार र न्यायिक फैसलामा परिवर्तन गरेको आरोप लगाउँदै शाहबाग प्रहरी चौकीमा मुद्दा दायर गरेका थिए ।

यसअघि १५ अगस्टमा नारायणगञ्जको फतुल्ला प्रहरी चौकीमा अर्को मुद्दा दर्ता भएको थियो । फतुल्ला थाना बिएनपीका महासचिव तथा नारायणगञ्ज जिल्ला बार एसोसिएसनका पूर्व अध्यक्ष अब्दुल बारी भुइयाँले मुद्दा दायर गरेका थिए ।

भुइयाँको उजुरी १३ वर्षअघि कार्यवाहक सरकारी प्रणालीलाई खारेज गर्ने ऐतिहासिक फैसलासँग सम्बन्धित छ । उनले खैरुलमाथि संविधानको १३औँ संशोधनलाई रद्द गर्न मूल फैसला परिवर्तन गरेको र प्रक्रियामा जालसाजी गरेको आरोप लगाए ।