काठमाडौं – चार दिने नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा जाँदैछन् । मंगलबार दिउँसो नेपाल आइपुगेका राष्ट्रपति हमिद आज बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा पुग्ने कार्यक्रम रहेको छ ।
पोखराको दृश्यावलोकन गर्न जान लागेका राष्ट्रपति हमिदको स्वागतको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्नेछन् ।
राष्ट्रपति हमिदको भ्रमणलाई दृष्टिगत गरेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवाताल किनारास्थित फिष्टेल लजमा आराम गर्नुका साथै केही समय फेवातालमा जलविहार गर्ने कार्यक्रम छ ।
जलविहारपश्चात नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन् । त्यसपछि, राष्ट्रपति हमिद आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हमिद नेपाल आएका हुन् ।




प्रतिक्रिया