नेपालमा चार दिनसम्म के गर्दैछन् बंगलादेशका राष्ट्रपति ? यस्तो छ भ्रमणतालिका

नेपालमा चार दिनसम्म के गर्दैछन् बंगलादेशका राष्ट्रपति ? यस्तो छ भ्रमणतालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदैछन् । राष्ट्रपति हसिम मध्यान्ह नेपालको चार दिने भ्रमणका लागि आइपुग्दैछन् । उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायतका उच्च अधिकारीहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

यस्तो छ उनको चार दिने भ्रमण तालिकाः

कात्तिक २६ गते

बंगलादेशका राष्ट्रपति आज मध्यान्ह १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान बंगलादेश एयरलाइन्सको उडान नम्बर बीजी ७१ बाट अवतरण गर्नेछन् । उनी विमानस्थलमा १२ः५५ बजेबाट १ः१५ सम्म स्वागत समारोहमा सरिक हुनेछन् । त्यसपछि १ः३५ बजे होटेल म्यारिएटमा पुग्नेछन् ।

त्यहाँ केही समय आराम गरेपछि उनी भक्तपुर जानका लागि ३ बजेर २० मिनेटमा नारायणहिटी हेलिप्याडतर्फ प्रस्थान गर्नेछन् । उनी ३ बजेर ४७ मिनेटमा भक्तपुरको सैनिक आवासीय महाविद्यालयको हेलिप्याडमा अवतरण गर्नेछन् । त्यहाँबाट मोटरकेडसहित भक्तपुर दरबार स्क्वायरमा जानेछन् । ५ बजेर १५ मिनेट जाँदा सैनिक आवासीय महाविद्यालयको हेलिप्याडबाट उनी काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी ५ बजेर ४३ मिनेटमा होटल म्यारिएटमा पुग्नेछन् । सोही होटलमा साँझ ६ः१५ देखि ६ः३५ सम्म परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बंगलादेशी राष्ट्रपतिसँग भेट गर्नेछन् । ७ः१० बजे बंगलादेशी राष्ट्रपति नेपालका लागि बंगलादेशका राजदूतले आयोजना गर्ने रात्रिभोजमा सरिक हुन प्रस्थान गर्नेछन् ।

कात्तिक २७ गते

बिहान १०ः५० देखि ११ः५ सम्म राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बंगलादेशका राष्ट्रपतिलाई होटल म्यारिएटमै भेट्नेछन् । ११ः१० देखि ११ः२५ सम्म नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई भेट्नेछन् । त्यसपछि २ बजेबाट २ः१५ बजेसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट्ने कार्यक्रम रहेको छ । २ः४० देखि ३ः१० सम्म प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी राष्ट्रपतिसमक्ष शिष्टाचार भेट गर्नेछन् । ३ः१५ बाट ३ः३५ सम्म उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्गले भेट्ने कार्यक्रम रहेको छ ।

४ बजे बंगलादेशका राष्ट्रपति शितल निवासका लागि प्रस्थान गर्नेछन् । ४ः३० देखि ५ बजेसम्म उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बैठक गर्नेछन् । ५ बजेर १५ मिनेट जाँदा उनी म्यारिएट होटलमा फर्कनेछन् । ६ बजेर १५ मिनेट जाँदा उनको सम्मानमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले आयोजना गर्ने रात्रिभोजका लागि होटल याक एण्ड यति तर्फ प्रस्थान गर्नेछन् । ६ः३० बजेबाट ९ बजेसम्म रात्रिभोजको कार्यक्रम रहेको छ । उनी ९ बजेर १० मिनेटमा होटल म्यारिएट पुग्नेछन् ।

कात्तिक २८ गते

बिहान ११ बजे उनी नारायणहिटी हेलिप्याडतर्फ प्रस्थान गर्नेछन् र करिब ११ः बजे उनी त्यहाँबाट पोखराका लागि प्रस्थान गर्नेछन् । १२ः२० देखि १ बजेसम्म उनी फेवातालमा बोटिङ्ग गर्नेछन् । १ः५ बजे स्थानीय फिस्टेल लजमा उनी दिवाभोजका लागि जानेछन् । २ः१५ बजे उनी पोखरा विमानस्थलको लागि प्रस्थान गर्नेछन् । २ः३० बजे उनी रुपाकोट रिसोर्टतर्फ प्रस्थान गर्नेछन् । उनी त्यहाँ एक घण्टा बस्नेछन् । ३ः५५ बजे उनी काठमाडौंका लागि प्रस्थान गर्नेछन् । ४ बजेर ४० मिनेटमा उनी काठमाडौं आइपुगेर होटल तर्फ प्रस्थान गर्नेछन् ।

कात्तिक २९ गते

बिहान ११ बजे चन्द्रागिरी हिल्सका लागि होटल छोड्नेछन् । त्यसका लागि उनी नारायणहिटी हेलिप्याडमा गएर त्यहाँबाट ११ः३० मा चन्द्रागिरी पुग्नेछन् । उनी केबुलकार चढेर माथि जानेछन् । दिवाभोजको कार्यक्रम त्यहीं राखिएको छ । १ बजेर ३५ मिनेटमा उनी त्यहाँबाट प्रस्थान गर्नेछन् र २ बजे होटल म्यारिएटमा आइपुग्नेछन् । ४ः२५मा उनी स्वदेश प्रस्थानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछन् । ४ः४०मा विमानस्थलमा विदाई समारोह हुनेछ । विमान बंगलादेश एयरलाइन्सको उडान नम्बर बीजी ७० बाट ढाकातर्फ प्रस्थान गर्नेछन् ।

वैकल्पिक सडकको प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

हमिदको चार दिने औपचारिक नेपाल भ्रमणका अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले एक विज्ञप्ति जारी गरी मङ्गलबारदेखि यही कात्तिक २९ गतेसम्म हुने नेपाल भ्रमणका समयमा ठूला मालबाहक सवारीसाधन चक्रपथभित्र प्रवेश नगरिदिनु हुन सबै नागरिकमा आग्रह गरेको हो ।

मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ ।

सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले भनेको छ ।

यसैगरी उक्त समयमा ट्राफिक समस्या परेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गर्न चालकलाई आग्रह समेत गरिएको छ ।