बंगलादेशले गर्‍यो नेपालबाट ४० मेगावाट विद्युत् किन्‍ने निर्णय

बंगलादेशले गर्‍यो नेपालबाट ४० मेगावाट विद्युत् किन्‍ने निर्णय

File photo

काठमाण्डु – बंगलादेशले नेपालबाट ४० मेगावाट विद्ययुत् किन्ने भएको छ । त्यहाँको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिपरिषद्को समिति (सीसीजीपी)ले ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।

मंगलबार मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेसहित १५ वटा प्रस्ताव स्वीकृत गरेको मन्त्रिपरिषद् विभाग (समन्वय र सुधार)का सचिव मोहम्मद हुसेन खानले पत्रकारहरूलाई जानकारी दिएका छन् ।

‘विद्युत् विभागको प्रस्तावपछि बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेछ,’ खानले भने । एनटीपी विद्युत् व्यापार निगम(एनभीभीएन) नेपाल विद्युत् प्राधिकरण र बीपीडीबीबीच त्रिपक्षीय सम्झौता पछि मात्रै विद्युत् आयात सुरु गरिने उनको भनाइ थियो ।

प्रतियुनिट ८.१७ बंगलादेशी टाका(९ रुपैयाँ ३० पैसा)मा विद्युत् आयात गरिने र भारतीय ग्रिड प्रयोग गरी नेपालबाट बिजुली आयात गर्नु पर्ने भएकाले भारतलाई प्रतियुनिट ०.०५९ रुपैयाँ व्यापारिक मार्जिन तिर्नुपर्ने खानले पत्रकारहरूलाई बताए ।

बंगलादेशले भारतलाई प्रसारण लाइन प्रयोगबापतको शुल्क तिर्नुपर्ने भए पनि मूल्य तय भइसकेको छैन ।

विद्युत् आयातका लागि नेपाल र बंगलादेशबीच हुने सम्झौताको मिति तय भइसकेको छैन । सचिव खानले प्रधानमन्त्री शेख हसिनाको सम्भावित नेपाल भ्रमणको क्रममा विद्युत् आयात सम्झौता हुन सक्ने बताए ।

बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको थियो । सोहीअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्र पठाएको थियो । प्राधिकरणले फेब्रुअरी पहिलो साता बंगलादेशसमक्ष प्रस्ताव पेस थियो ।

प्राधिकरणको टोली र बंगलादेश पावर डेभलपमेन्ट बोर्डअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच गत फागुन १० मा ढाकामा भएको वार्ताका आधारमा अहिले त्यस्तो निर्णय भएको हो ।