बंगलादेशमा फेरि भड्कियो हिंसा

बंगलादेशमा फेरि भड्कियो हिंसा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बंगलादेशमा फेरि हिंसा भड्किएको छ ।

पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिगको प्रस्तावित राष्ट्रव्यापी विरोध प्रदर्शन अघि बुधबार अबेर राति बंगलादेशका धेरै शहरहरूमा हिंसा भड्किएको हो । पूर्वप्रधानमन्त्री हसिनाका विरोधीहरूले राजधानी ढाकाको धनमन्डीमा रहेको उनका बुवा शेख मुजिबुर रहमानको घरमा आगजनी गरेका छन् ।

साथै उनीहरूले आगलागीबाट बचेको घरसमेत भत्काइदिएको र मुजिबुरको भित्तेचित्रलाई पनि बिगारेका छन् । यस्तै प्रदर्शनकारीहरूले खुलनामा शेख हसिनाका काका शेख सोहेल र शेख जेवेलको घरलाई दुईवटा बुलडोजरले भत्काइ दिएका छन् । सामाजिक सञ्जालमा ‘बुलडोजर जुलुस’ घोषणा गरेपछि हिंसा भएको हो ।

प्रदर्शनकारीले बुधबार राति र बिहीबार बिहान देशभर हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका छन् । यस घटनाका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

भारतमा रहेकी हसिनाको अनलाइन कार्यक्रम हुनुभन्दा ठीक अगाडि बंगलादेशमा हिंसा सुरु भएको थियो । बंगलादेशी समाचारपत्र द डेली स्टारका अनुसार हसिनाको ‘बङ्गलादेशविरोधी गतिविधि’का कारण यो विरोध प्रदर्शन भएको हो ।

अपदस्थ प्रधानमन्त्री हसिनाका विरोधीहरूले उनले भारतमा बसेर बंगलादेशविरोधी गतिविधि गरिरहेको आरोप लगाउने गरेका छन् ।

गत वर्ष बंगलादेशमा विद्यार्थी आन्दोलनको हिंसात्मक प्रदर्शनपछि हसिनाले देश छोड्नपरेको थियो । उनी गत वर्षको अगस्ट ५ मा भारत गएकी थिइन् ।

किन भड्कियो हिंसा?

शेख हसिनाको पार्टी अवामी लिगले आफ्ना कार्यकर्ता र नेताहरूलाई फेब्रुअरी ६ मा सडकमा आउन अपील गरेको थियो । पार्टीले पूर्वप्रधानमन्त्री हसिनामाथि कथित मुद्दा दर्ता गर्न र अल्पसंख्यकमाथि आक्रमणको विरोधमा जुलुस निकाल्न आह्वान गरेको थियो ।

हसिनाले बंगलादेश छोडेको बुधबार ६ महिना पूरा भएको छ । हसिनाले राति ९ बजे आफ्ना समर्थकहरूलाई अनलाइन भाषण दिने कार्यक्रम थियो ।

यसअघि ‘२४ क्रान्तिकारी विद्यार्थी–जनता’ नामको विद्यार्थी संगठनले यसको विरोधमा राति ९ बजे ‘बुलडोजर मार्च’ निकाल्ने घोषणा गरेको थियो । यसका लागि सामाजिक सञ्जालमा प्रचारप्रसार गरिएको थियो । त्यसमा हसिनाका बुवाको घर भत्काउने भनिएको थियो तर प्रदर्शनकारीहरू शेख मुजिबुर रहमानको घर धानमण्डी–३२ पुगेर भत्काउन थालेका थिए ।

प्रदर्शनकारीहरूले शेख मुजिबुर रहमानको घरको मुख्य गेट तोडेर भित्र पसेका थिए । त्यही क्रममा उनीहरूले ‘फाँसी देऊ, फाँसी देऊ । शेख हसिनालाई फाँसी देऊ’ जस्ता नारा लगाएका थिए ।

आन्दोलनकारीले मुजिबुर रहमानको घर ‘फाँसीवादीहरूको गढ’ भएको भन्दै यसलाई हटाउन आवश्यक रहेको बताएका थिए ।