काठमाण्डु- बंगलादेशको अन्तरिम सरकार संकटपूर्ण मोडमा पुगेको छ । सरकारका प्रमुख सल्लाहकार प्रा. मोहम्मद युनुसले राजीनामा दिने मुडमा पुगेको खबरहरू सार्वजनिक भएको छ । यसले सरकारको भविष्यबारे अनिश्चितता पैदा भएको छ ।
हाल राजनीतिक वृत्तमा सबैभन्दा धेरै चर्चा यही प्रश्नमा केन्द्रित छ—अन्ततः युनुस किन अचानक राजीनामाको सोचमा पुगेका छन्? र उनको राजीनामा पछि बंगलादेशको भविष्य के हुन्छ र सबै सक्रिय राजनीतिक दलहरूको समर्थनमा बनेको यो सरकार यस्तो संकटमा कसरी फस्यो ?
यो सबै त्यस्तो समयमा भइरहेको छ जब बंलादेश नेशनलिस्ट पार्टी (बीएनपी) सडकमा विरोध प्रदर्शन गरिरहेको छ र उसले अन्तरिम सरकारबाट समर्थन फिर्ता लिने संकेत पनि गरेको छ ।
यता, सेनाप्रमुख जनरल वकार–उज–जमानले बुधबार सैन्य अधिकृतहरूसँग बैठकमा छिटो निर्वाचन गर्न जोड दिएका थिए ।
यी सबै घटनाक्रमका बीच अन्तरिम सरकारका प्रमुख युनुसले आफू राजीनामाको सोचमा रहेको जानकारी सल्लाहकारहरूलाई दिएका छन् ।
अब राजनीतिज्ञ र विश्लेषकहरू प्रश्न उठाउँदै छन् त्यस्तो व्यापक समर्थन हुँदाहुँदै पनि यो सरकार असफल किन र कसरी भएको हो ?
बैठकमा उनले अन्य दलहरूको असहयोग र अडचनका कारण आफूहरूको सरकारले काम गर्न नसकेको प्रति असन्तोष र निराशा व्यक्त गरे ।
नेशनलिस्ट सिटिजन्स पार्टी (एनसीपी) का संयोजक नाहिद इस्लामले बीबीसी बंगला सेवासँग कुरा गर्दै युनुसको राजीनामा बारे जानकारी दिएका हुन् ।
अब राजनीतिक दलहरूले यो अवस्थाको आ–आफ्नै ढंगले विश्लेषण गरिरहेका छन् । बीएनपीले प्रमुख सल्लाहकारको राजीनामाको विषय एक योजनाबद्ध चुनावी मार्गचित्र र तीन सल्लाहकारहरूको राजीनामाको मागबाट ध्यान हटाउन ल्याइएका हुन् बताएको छ ।
बीएनपी लगायत विभिन्न दलका नेताहरूले सरकार कमजोर भएको कारणले नै परिस्थिति सम्हाल्न नसक्ने अवस्थामा पुगेको विश्लेषण गरेका छन् ।
अब यो संकट समाधान गर्न जमात–ए–इस्लामीले सबै दलको सर्वदलीय बैठक बोलाउने सुझाव दिएको छ । तर सरकारको तर्फबाट अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको छैन ।
संकटमा किन पर्यो सरकार ?
गएको वर्ष जुलाईमा भएको ठुलो आन्दोलनपछि अवामी लिग सत्ताबाट हट्दा मोहम्मद युनुसको नेतृत्वमा गठित अन्तरिम सरकारलाई आन्दोलनका नेताहरूका साथै बीएनपी, जमात, सेना र अन्य सबै राष्ट्रिय संस्थाहरूको पूर्ण समर्थन प्राप्त थियो ।
अब राजनीतिज्ञ र विश्लेषकहरू प्रश्न उठाउँदै छन् त्यस्तो व्यापक समर्थन हुँदाहुँदै पनि यो सरकार असफल किन र कसरी भएको हो ?
जानकारहरूका अनुसार गत वर्ष जुलाईको आन्दोलनको नेतृत्व गर्ने विद्यार्थीहरूप्रति युनुसको सहानुभूति छ, जुन उनी आफैंले पनि स्वीकार गरिसकेका छन् ।
आन्दोलनको नेतृत्व गर्ने विद्यार्थीहरूले एनसीपी नामक नयाँ पार्टी गठन गरेपछि युनुसको त्यसप्रति पक्षपात देखिएको भनिएको छ, जसले बीएनपीलाई आक्रोशित बनाएको छ ।
यद्यपि सल्लाहकार परिषद्मा सामेल भएका एक विद्यार्थी प्रतिनिधिले राजीनामा दिएर सो पार्टीको नेतृत्व सम्हालेका छन् । तर अझै दुई विद्यार्थी प्रतिनिधि सल्लाहकारको भूमिकामा छन् । बीएनपी तिनीहरूको राजीनामाको माग गर्दै सडकमा उत्रिएको छ ।
सरकारका विभिन्न क्षेत्रमा असफलता, राजनीतिक दलहरूको असहयोग र आपसी द्वन्द्वले सरकारलाई थप दबाबमा पारेको देखिन्छ ।
पछिल्ला ९ महिनामा अन्तरिम सरकारका कार्यकालमा पहिला भेदभाव विरोधी विद्यार्थी आन्दोलन र त्यसपछि एनसीपीको ब्यानरमा विभिन्न मुद्दामा विरोध प्रदर्शन भएका छन् ।
यद्यपी अवामी लिगमाथि प्रतिबन्ध लगाउन माग गर्दै मुख्य सल्लाहकारको निवास अगाडि प्रदर्शन गर्ने योजना बनाइएको थियो । तर सरकार त्यसमा रोक लगायो ।
बीएनपीले सरकारमाथि एनसीपीलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ । अब फेरि उसले यही मुद्दा उठाएको छ ।
यता, सडकमा उत्रने भीडको अनुशासनहीनता र भीडको माध्यमबाट अराजकता फैलाएर दबाब सिर्जना गर्ने प्रयासबारे पनि गम्भीर चर्चा भइरहेको छ । यसमा सरकार कमजोर देखिएको छ । कतिपय अवस्थामा सरकारी संरक्षण वा समर्थनको प्रश्न पनि उठाइएको छ ।
सरकारका विभिन्न क्षेत्रमा असफलता, राजनीतिक दलहरूको असहयोग र आपसी द्वन्द्वले सरकारलाई थप दबाबमा पारेको देखिन्छ ।
विश्लेषकहरूकाअनुसार राजनीतिमा विभाजन, दलहरूबीच र सरकारी हितधारकहरूबीच हितको टकराव अब स्पष्ट रूपमा देखिन थालिएको छ ।
राजनीतिक विश्लेषक मोहिउद्दिन अहमदले भने, ‘अहिले तीन दल—बीएनपी, जमात र एनसीपीको प्रभाव सबैभन्दा बढी देखिन्छ । तर यी तीनबीचको तनावले राजनीतिमा विभाजन पैदा भएको छ ।’
अहमद थप्छन्, ‘मुख्य सल्लाहकारमा राजनीतिक परिस्थिति सम्हाल्ने दक्षता अभाव छ । समग्रमा सरकार काम गर्न सकिरहेको छैन । त्यसैले सरकार गम्भीर संकटमा परेको छ ।’
जमात र एनसीपी लगायत अन्य दलहरूमा पनि यसबारे गम्भीर बहस चलिरहेको छ ।
प्रतिक्रिया