बंगलादेशमा किन बढ्यो भारतविरोधी भावना ?

बंगलादेशमा किन बढ्यो भारतविरोधी भावना ?

गत वर्षको आन्दोलनमा भारतले देखाएको प्रतिक्रिया नै भारतविरुद्ध जनआक्रोश बढायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत र बंगलादेशबीचको कूटनीतिक सम्बन्ध थप चिसिएको छ । हालै भएका हिंसात्मक प्रदर्शनका क्रममा एक युवकको मृत्यु भएपछि दुई छिमेकी देशबीचको अविश्वास र तनाव अझ बढेको हो । गत बिहीबार युवा नेता उस्मान हादीको मृत्युपछि बंगलादेशमा हिंसा फेरि भड्किएको हो ।

बंगलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको ज्यान गएपछि त्यहाँ भारतविरोधी भावना थप बढेको हो । दुवै देशले एकअर्काका कूटनीतिक नियोगको सुरक्षालाई लिएर आपत्ति जनाएका छन् ।

बंगलादेशका केही शहरहरूमा भिसा सेवा अस्थायी रूपमा बन्द गरिएको छ र उच्चस्तरीय कूटनीतिज्ञलाई बोलाएर सुरक्षा चासोबारे जानकारी गराइएको छ ।

विश्लेषकहरूका अनुसार बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाको बर्हिगमनपछि धार्मिक कट्टरपन्थी समूहहरू सक्रिय बन्दै गएका छन्, जसले अल्पसंख्यक समुदाय र नागरिक समाजमाथि दबाब बढाएको छ । यसले भारत–बंगलादेश सम्बन्ध मात्र नभइ, त्यहाँको आन्तरिक स्थायित्वलाई पनि चुनौती दिएको छ । त्यहाँको अन्तरिम सरकारले हिंसामा संलग्न जो कोहीलाई कारबाही गरिने प्रतिबद्धता जनाएको छ ।

आउँदो फेब्रुअरीमा हुने चुनावले देशको राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ । पूर्वकूटनीतिज्ञ र विज्ञहरूले दुवै देशलाई संयम अपनाउन र संवादमार्फत सम्बन्ध सुधार गर्न आग्रह गरेका छन् ।

उनीहरूले बंगलादेशको स्थायित्व भारतको क्षेत्रीय सुरक्षाका लागि पनि अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै आएका छन् ।

विश्लेषकहरूका अनुसार भारतले मुक्तियुद्धका समयमा बंगलादेशसँग सहकार्य गरे पनि अहिले ऊमाथि सीमा क्षेत्रमा मान्छे मार्ने गरेको, पानीको बाँडफाँटमा उसको असमान भूमिका रहने गरेको र आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको जस्ता आरोप लाग्ने गरेको छ।

धेरैले अहिलेका आक्रमणहरू बंगलादेशको राजनीतिमा सोही भारतविरोधी भावनाको नयाँ स्वरूप भएको ठानेका छन्।

विश्लेषकहरूका अनुसार अन्तरिम सरकारको १६ महिनाको मुख्य चुनौती कानुनी शासनको स्थिति निर्माण गर्नु थियो र यस अस्थिर अवस्थालाई सुधार्न चुनावबाट मात्रै सम्भव छ।

तथापि धेरै नेताहरूले एउटा पार्टीले आउँदो चुनाव बिथोल्नका लागि हिंसा भड्काउन भारतविरोधी भावनाको प्रयोग गरिरहेको आशङ्का प्रकट गरेका छन्।

लामो समयदेखि बंगलादेशमा कायम भारतविरोधी भावनाले गत वर्षको जुलाईमा भएको आन्दोलनपछि बवभिन्न कारणले गर्दा नयाँ आयाम प्राप्त गरेको छ।

उक्त आन्दोलनपछि पूर्वप्रधानमन्त्री शेख हसीना र अवामी लिगका अन्य नेताहरूले भारतमा शरण लिएसँगै बंगलादेश र भारतबीचको कूटनीतिक सम्बन्ध तनावपूर्ण बन्यो।

‘सधैँ त्यस्तो प्रभुत्वको प्रतिरोध हुँदै आएको छ जुन लामो समयदेखि चल्दै आएको छ। यसमा पतन भएको सरकारप्रति उनीहरूको समर्थन पनि जोडिएको छ,’ ढाका विश्वविद्यालयका प्राध्यापक काजी मरुफुल इस्लामले भने ।

‘गत वर्ष जुलाईको आन्दोलनप्रति भारतले देखाएको प्रतिक्रियाले भारतविरुद्ध जनआक्रोश बढाएको छ। बंगलादेशमा हादीको मृत्यु वरिपरि आफ्नो धार्मिक राजनीति सुदृढ गर्न चाहनेहरूले यसलाई झन् बढी प्रयोग गर्न खोजिरहेका छन्’, बंगलादेश एडिटर्स काउन्सिलका अध्यक्ष नुरुल कबिरले भने।