बंगलादेशको रक्तपातले के हासिल गर्‍यो ?

बंगलादेशको रक्तपातले के हासिल गर्‍यो ?

ठूलो मानवीय क्षतिपछि पनि बंगलादेशले राजनीतिक स्थिरता, लोकतान्त्रिक सुधार र राष्ट्रिय एकता हासिल गर्न सकेको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुलाई बंगलादेशका लागि अत्यन्त व्यस्त महिना हो । त्यति मात्र होइन, यो आत्मसमीक्षा र हिसाब–किताब गर्ने समय पनि हो ।

सन् २०२४ को जुलाईमा देशभरि डढेलोझैँ फैलिएको विद्यार्थी आन्दोलनले केही सातामै तत्कालीन प्रधानमन्त्री शेख हसिनाको शासन ढालिदियो । अगस्टको सुरुआतमै उनी सत्ताबाट बाहिरिइन् ।

त्यसयता बितेका दुवै जुलाई महिनामा आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय कार्यक्रम आयोजना गरियो । सरकारका उच्च अधिकारीहरूले श्रद्धाञ्जलि अर्पण गरे भने राष्ट्रिय नागरिक पार्टी (एनसीपी) लगायत विभिन्न राजनीतिक दलहरूले सहिद मिनारजस्ता ऐतिहासिक स्थलहरूमा सभा र  र्‍याली आयोजना गरे । एनसीपी भने त्यही विद्यार्थी आन्दोलनबाट जन्मिएको नयाँ राजनीतिक शक्ति हो ।

तर यस वर्षको जुलाई भने फरक देखियो । अहिले ’जुलाई’ शब्द नै सामाजिक सञ्जालमा विभाजन र विवादको प्रतीक बनेको छ । ‘जुलाई सीडीआई’ भन्ने अपमानजनक शब्दावली व्यापक रूपमा प्रयोग हुन थालेको छ ।

उता एनसीपी र बंगलादेशको सबैभन्दा ठूलो इस्लामवादी दल जमात-ए-इस्लामीबीचको राजनीतिक सहकार्य बलियो बन्दै गएको छ ।

फलस्वरूप अहिले बंगलादेशमा केवल ‘शेख हसिना’ सम्बन्धी प्रश्न मात्र होइन, अझ गहिरो प्रश्न उठिरहेको छ–२०२४ को जुलाईमा यति धेरै रगत बगाएर आखिर के प्राप्त भयो ?

‘जुलाई सीडीआई’ र हसिनाको छाया

यस वर्ष जुलाई १ मा चर्चित अभिनेत्री तथा निर्देशक मेहर अफरोज शाओनले सामाजिक सञ्जालमा २०२४ को विद्यार्थी आन्दोलनलाई ‘जुलाई सीडीआई’ भनेर उल्लेख गरिन् । ‘सीडीआई’ बंगाली भाषामा प्रयोग हुने एउटा अपमानजनक गाली हो, जुन बंगलादेश र पश्चिम बंगाल दुवैतर्फ प्रचलित छ ।

जुलाई ४ मा द डेली स्टारले शाओनसहित तीन महिलाविरुद्ध शाहबाग प्रहरी कार्यालयमा उजुरी दर्ता भएको समाचार प्रकाशित गर्‍यो । उनीहरूमाथि सामाजिक सञ्जालमार्फत जुलाई आन्दोलनको अपमान गरेको आरोप लगाइएको थियो ।

उजुरीअनुसार शान्ता फरजानाले जुलाई स्मारकमा जुत्ता प्रहार गरेकी थिइन् । शाओनले आन्दोलनलाई ‘पूर्वनियोजित नाटक’ भनेको र अभिनेत्री माहिया माहीले आन्दोलनमा सहभागी व्यक्ति तथा संस्थाहरूको खिल्ली उडाएको आरोप लगाइएको थियो ।

त्यसयता बंगलादेशी सामाजिक सञ्जालमा ‘जुलाई सीडीआई’ शब्द तीव्र रूपमा फैलिएको छ ।

अर्कोतर्फ आन्दोलनको आलोचना गर्नेहरूलाई जवाफ दिन ‘मुजिब सीडीआई’ र ‘हसिना सीडीआई’ भन्ने नयाँ शब्दहरू पनि प्रयोग हुन थालेका छन् ।

यसरी अहिले सामाजिक सञ्जालमा आन्दोलनको मूल्य, त्यसको उपलब्धि र त्यसबाट देश कुन दिशामा गयो भन्ने विषयमा तीव्र ध्रुवीकरण देखिएको छ ।

क्रान्तिको अनुहार को थियो ?

जुलाई आन्दोलनले आजसम्म पनि बंगलादेशलाई एकताबद्ध बनाउन नसक्नुको प्रमुख कारणमध्ये एउटा हो–यो आन्दोलनको नेतृत्व कसले गर्‍यो र यसको वास्तविक उद्देश्य के थियो ?

हरेक क्रान्तिलाई एउटा प्रतीकात्मक अनुहार चाहिन्छ । सन् २०२४ को जुलाई आन्दोलनका लागि त्यो अनुहार बनेका थिए २३ वर्षीय अबु सइद ।

जुलाई १६ मा रंगपुरस्थित बेगम रोकेया विश्वविद्यालयअगाडि शेख हसिनाको सरकारविरुद्ध प्रदर्शन गरिरहेका विद्यार्थीहरूको अग्रपंक्तिमा उनी थिए ।

प्रहरीको अगाडि उनी निडर भएर उभिए । त्यसपछि विभिन्न सञ्चारमाध्यमले खिचेका भिडियोमा प्रहरीले उनीमाथि रबरका गोली प्रहार गरेको देखियो । गोली लागेपछि उनी ढले र साथीहरूले तत्काल अस्पताल पुर्‍याए । तर चिकित्सकहरूले उनलाई अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको घोषणा गरे । अबु सइदको मृत्युले आन्दोलनलाई नयाँ ऊर्जा दियो ।

दुवै हात फैलाएर प्रहरीको गोली सामना गरिरहेको उनको तस्बिर आन्दोलनको प्रतीक बन्यो । त्यसले बंगलादेश मात्र होइन, भारतको कोलकातासम्म विद्यार्थी, कलाकार र सर्वसाधारणलाई पनि भावनात्मक रूपमा जोड्यो ।

तर प्रश्न उठ्यो-अबु सइद वास्तवमा को थिए ? अबु सइदको मृत्यु भएको करिब एक महिनापछि लेखकलाई नयाँदिल्लीस्थित एक प्रतिष्ठित थिंक ट्याङ्कमा आयोजित बन्द कोठा छलफलमा सहभागी हुन निमन्त्रणा दिइएको थियो ।

त्यतिबेलासम्म शेख हसिनाको सरकार ढलिसकेको थियो । उनका पिता शेख मुजिबुर रहमानका सालिकहरू समेत भत्काइएका थिए । आवामी लिगसँग सम्बन्धित कार्यालय र संरचनामाथि आक्रमण भइरहेका थिए ।

त्यस छलफलमा भारतका पूर्व राजदूत, भारतीय सेनाका अवकाशप्राप्त वरिष्ठ अधिकारी र एक पूर्व गुप्तचर अधिकारी सहभागी थिए ।

ती पूर्व गुप्तचर अधिकारीले भने–‘भारत अबु सइदको बढ्दो प्रभावलाई लिएर चिन्तित हुनुपथ्र्यो ।’ उनका अनुसार अबु सइदका फेसबुक पोस्टहरू अध्ययन गर्दा धार्मिक इतिहास, जिहाद र शहादतप्रति गहिरो आकर्षण देखिन्थ्यो ।

उनी मौलाना देलवार हुसेन सईदीका समर्थक थिए । सईदी जमात–ए–इस्लामीका प्रभावशाली नेता थिए, जसलाई सन् १९७१ को स्वतन्त्रता युद्धका क्रममा भएका युद्ध अपराधमा दोषी ठहर गरिएको थियो ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले उनलाई हत्या, बलात्कार र धार्मिक उत्पीडनसहित आठ आरोपमा दोषी ठहर गरेको थियो ।

ती भारतीय अधिकारीका अनुसार भारतको गुप्तचर संयन्त्रले आन्दोलनका प्रमुख व्यक्तिहरूको गतिविधिमाथि निगरानी राखेको थियो ।

उनले भने, ‘अबु सइद अचानक चे ग्वेभाराजस्तै क्रान्तिको प्रतीक बने । त्यसैले हामीले उनको पृष्ठभूमिबारे गहिरो अनुसन्धान गर्‍यौं ।’

उनका अनुसार अबु सइद बंगलादेश इस्लामी छात्र शिबिरका सदस्य थिए, जुन जमात–ए–इस्लामीको विद्यार्थी संगठन मानिन्छ ।

ती अधिकारीको दाबी थियो-‘अबु सइद मात्रै होइन, आन्दोलनका अन्य धेरै व्यक्तिहरू पनि जमातसँग आबद्ध थिए । कोटा आन्दोलन केवल एउटा बहाना थियो । वास्तविक उद्देश्य शेख हसिनालाई हटाएर उनका कट्टर विरोधीहरूलाई सत्तामा पुर्‍याउनु थियो ।’

उनले थपे, ‘शेख हसिनालाई यसबारे पहिले नै चेतावनी दिइएको थियो ।’

लेखकले आफ्नो पुस्तक ‘इनशाल्लाह बंगलादेश : द स्टोरी अफ एन अनफिनिस्ड रिभोल्युसन’का लागि स्वतन्त्र चलचित्रकर्मी तथा लेखक एफएम शाहिनसँग पनि कुराकानी गरेका थिए ।

शाहिनका अनुसार जुलाई आन्दोलनपछि बंगलादेशमा ‘डिजिटल रजाकार’ नाम दिइएको नयाँ पुस्ताको उदय भयो । यी युवाहरू सामाजिक सञ्जालमार्फत कट्टर इस्लामवादी विचार फैलाउन सक्रिय रहेको उनको भनाइ छ ।

उनले भने, ‘डिजिटल रजाकारहरू अहिले जताततै छन् । विश्वविद्यालय, कफी सप, सरकारी कार्यालय, निजी संस्था, सञ्चारमाध्यम र गैरसरकारी संस्थासम्म उनीहरूको प्रभाव फैलिएको छ ।’

‘कहिले उनीहरू शेख मुजिबको घर भत्काउन निस्किन्छन्, कहिले आवामी लिगमाथि प्रतिबन्ध लगाउन आन्दोलन गर्छन्, अनि फेरि आफ्नै सामाजिक सञ्जाल र ह्वाट्सएप समूहमा फर्केर इस्लामवादी सर्वोच्चताको प्रचारमा लाग्छन् ।’ उनका अनुसार यो बंगलादेशका लागि अत्यन्त चिन्ताजनक परिवर्तन हो ।

जुलाई आन्दोलनबाट जन्मिएको नेसनल सिटिजेन पार्टी (एनसीपी) ले सन् २०२६ को फेब्रुअरीमा भएको आमनिर्वाचनअघि जमात–ए–इस्लामीसँग चुनावी गठबन्धन गर्‍यो ।

यस निर्णयले पार्टीभित्रै गम्भीर असन्तुष्टि पैदा गर्‍यो । शीर्ष नेताहरूले धमाधम राजीनामा दिन थाले र एनसीपी आन्तरिक संकटमा फस्यो ।

यस घटनाले आन्दोलनबारे पहिलेदेखि उठ्दै आएको एउटा शंकालाई झन् बलियो बनायो–के जुलाई आन्दोलन सुरुदेखि नै इस्लामवादी शक्तिलाई सत्तामा पुर्‍याउने योजनाको हिस्सा थियो ?

दुई वर्षपछि पनि उही प्रश्न

जुलाई आन्दोलनको दोस्रो वार्षिकोत्सवमा पुगेको बंगलादेश अहिले एउटा गम्भीर प्रश्नसँग जुधिरहेको छ–यति धेरै रगत बगाएर आखिर के हासिल भयो ?

विश्लेषक शफिकुल इस्लामले डेली वादा मा लेखेका छन्, ‘ढाकाका सडकमा मानिसहरूले आफ्नो ज्यान केवल एउटा शोषक अभिजात वर्गलाई हटाएर अर्को शोषक समूहलाई सत्तामा ल्याउनका लागि जोखिममा पारेका थिएनन् ।’

उनका अनुसार आन्दोलनकारीहरूको आकांक्षा धेरै ठूलो थियो । उनीहरू बदला र प्रतिशोधमा आधारित पुरानो राजनीतिक संस्कृतिबाट देशलाई मुक्त गर्दै उत्तरदायी, पारदर्शी र लोकतान्त्रिक राज्य निर्माण गर्न चाहन्थे ।

तर वास्तविकता भने फरक देखियो । शफिकुल इस्लाम लेख्छन्, ‘जुलाई आन्दोलनले सरकार त परिवर्तन गर्‍यो, तर शासन सञ्चालन गर्ने शैली, शक्ति संरचना र राजनीतिक प्रोत्साहन भने खासै परिवर्तन भएन ।’

रगत बग्यो, परिवर्तन कति आयो?

सरकारी तथ्यांकअनुसार जुलाई आन्दोलनका क्रममा करिब १,४०० जनाको मृत्यु भयो भने २० हजारभन्दा बढी घाइते भए ।

यति ठूलो मानवीय क्षति बेहोरेपछि पनि बंगलादेशले अपेक्षा गरेजस्तो राजनीतिक स्थिरता, लोकतान्त्रिक सुधार र राष्ट्रिय एकता हासिल गर्न सकेको छैन ।

बरु अहिले पनि देशमा आन्दोलनको वास्तविक उद्देश्य, त्यसको नेतृत्व, कट्टरपन्थी शक्तिको भूमिका र भविष्यको राजनीतिक दिशाबारे तीव्र बहस जारी छ ।

दुई वर्ष बितिसक्दा पनि बंगलादेशका नागरिकहरू एउटै प्रश्नको उत्तर खोजिरहेका छन–के जुलाई आन्दोलनले केवल एउटा सरकार हटायो, वा वास्तवमै नयाँ बंगलादेश निर्माण गर्ने आधार तयार ग¥यो ?