काठमाण्डु- बंगलादेशका सेना प्रमुख जनरल वाकर–उज–जमानले अन्तरिम सरकारलाई कानुन र व्यवस्थाको संयन्त्रलाई कमजोर नपार्न चेतावनी दिएका छन् ।
प्रमुख जमानले देशको स्थिति नियन्त्रणबाहिर जान लागेको र कानून व्यवस्था थप खराब हुँदै गएको बताएका छन् । राजधानी ढाकामा वरिष्ठ सैन्य अधिकारीहरूको भेलालाई सम्बोधन गर्दै जनरल जमानले सशस्त्र बल, प्रहरी र अन्य कानुन प्रवर्तन एजेन्सीहरूको अधिकारलाई कमजोर गरियो भने बंगलादेश विभाजन हुने चेतावनी दिए ।
जमानले अन्तरिम राजनीतिक नेतृत्व अराजकता नियन्त्रण गर्न असफल भएको दाबी गरे । उनले बंगलादेशी सेनाको कुनै महत्वकांक्षा नरहेको तर अराजकताले सीमा नाघेको बताए ।
‘यदि तपाईंहरूले हिलो छ्याप्ने काम रोक्न सकिएन र एकअर्कालाई मार्न र घाइते बनाउन जारी राखियो भने राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकता कमजोर हुनेछ ।’
देश निरन्तर अस्थिरताको बारेमा आफ्नो पहिलो सार्वजनिक बयानमा जनरल जमानको यस्तो भनाइ आएको हो । प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेपछि जनरल जमान केही दिन सरकारको जिम्मेवारीमा थिए । यद्यपि, उनले नोबेल शान्ति पुरस्कार विजेता डा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको लागि बाटो बनाएका थिए ।
जनरल जमानले यस वर्ष डिसेम्बरसम्ममा निर्वाचन गराउन सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।
‘हामी स्वतन्त्र, निष्पक्ष र समावेशी निर्वाचनतर्फ अघि बढिरहेका छौँ र त्यसअघि सरकारले केही सुधार गर्नेछ । म डा. युनुससँग सहमत छु कि डिसेम्बर २०२५ भित्र निर्वाचन हुनुपर्छ । हाम्रा विचार र विचारधारामा भिन्नता हुन सक्छ तर अन्त्यमा हामी एकताबद्ध रहनुपर्छ,’ उनले भने ।
उनले शान्ति व्यवस्था कायम गर्न त्यहाँको प्रहरी पूर्णरूपमा असक्षम भइसकेको र प्रहरीका उच्च अधिकारीहरुलाई शेख हसिनाको सरकारसँग जोडेर कोहीलाई जेल र कोहीलाई अदालती प्रक्रियामा लगिएपछि प्रहरीको मनोबल समाप्त भएको उल्लेख गरे ।
बंगलादेशमा विद्यार्थी आन्दोलनले सत्ताच्यूत भएपछि हसिना भारतमा निर्वासित छन् भने महमद युनुसको नेतृत्वमा अन्तरिम सरकार छ । अन्तरिम सरकारले निर्वाचन गर्ने भने पनि त्यहाँ अराजकता कायमै छ भने हिन्दू धार्मिक अल्पसंख्यकहरूमाथि अत्याचारले सीमा नाघेको छ ।




प्रतिक्रिया