नेपालगञ्ज – बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका दुईजना र बर्दियाका एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेको कोहलपुर नगरपालिका–२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको हो । उनी यही पुस ५ गते कोहलपुर मेडिकल कलेज भर्ना भएका थिए । सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनी गम्भीर भएपछि उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो ।
बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका–२० का ६६ वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । ७ गते सैनिक अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बिहान साढे ६ बजे मृत्यु भएको हो ।
यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका–९ निवासी ८५ वर्षीय महिलाको उपचारको क्रममा मंगलबार राति बाँकेमै मृत्यु भएको छ ।
उनी स्वास्थ्यमा समस्या भएपछि १२ गते अस्पताल भर्ना भएकी थिइन् ।




प्रतिक्रिया