बंकरमाथि चिया बगान : उदारण बन्यो काभ्रेको कामीडाँडा

बंकरमाथि चिया बगान : उदारण बन्यो काभ्रेको कामीडाँडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा – मर्दनसिंह लामा पूर्वलडाकु हुन्। उनी भूमिगत नाम प्रेमले परिचित थिए। माओवादी युद्धकालमा उनी आफ्ना कमरेडहरूसहित कामीडाँडामा फौजी तालिम गर्थे। युद्ध सकिएपछि उनले बन्दुक बिसाएर कोदाली उठाएका छन्। अहिले उनी चिया खेती गर्छन्।

काभ्रेको बेथानचोक गाउँपालिका–५ मा पर्छ कामीडाँडा। द्वन्द्वकालमा यो ठाउँ माओवादीको आधारइलाका थियो। धेरै पटक नेपाली राजनीतिलाई प्रभावित गर्ने घटना यहीँबाट निर्देशित भए। जनमुक्ति सेनाले यसलाई भूमिगत तालिमकेन्द्रका रूपमा प्रयोग गर्थे। जताततै बंकर खनिएका थिए। शान्तिप्रक्रिया सुरु भएपछि माओवादीको पहिलो केन्द्रीय बैठक यहीँ बस्यो। त्यसपछि राष्ट्रिय रूपमै यो ठाउँको चर्चा हुन थाल्यो।

सेना समायोजनअघि तेस्रो डिभिजनको शिविर यहीँ राख्ने प्रस्तावपछि यो थप चर्चित बन्यो। तर शान्तिप्रक्रियापछि मर्दनसिंहको झैँ कामीडाँडाको परिचय पनि फेरिएको छ। युद्ध सकिएको १२ वर्ष नाघ्दा युद्धभूमि कृषिभूमिमा फेरिएको छ। बुट बजारेर परेड खेल्ने चौरमा चियाको बोट रोपिएका छन्। बंकरमाथि हराभरा बगान छ। बन्दुक बिसाएकाहरूले कोदालो समातेका छन्। अब यहाँ राजनीतिक बहस र बैठक हुँदैनन्। ‘अब त कृषिक्रान्तिका लागि छलफल हुन थालेको छ,’ मर्दनसिंह बताउँछन्।

‘अहिले हामी सबै यो ठाउँलाई कृषिभूमि बनाउन लागिपरेका छौँ,’ उनले थपे, ‘जनयुद्ध सकियो। तर त्यसले सामाजिक परिवर्तन ल्याउन सकेन। हाम्रो अवस्था उस्तै रह्यो।’ २०६२-०६३ मा माओवादी शान्ति प्रक्रियामा आयो। कार्यकर्ताका लागि भने जीवनयापनमै समस्या उत्पन्न भयो। त्यसपछि कामीडाँडाका स्थानीय र पूर्वलडाकु मिलेर चिया खेती सुरु गरे। त्यसका लागि उनीहरूले सहकारी खोले। दृष्टि चिया सहकारी संस्थामार्फत अहिले गाउँमै अग्र्यानिक चिया उत्पादन र प्रशोधन हुने गरेको उनले बताए। ‘नेताहरूले वर्षौँदेखि आश्वासन मात्र दिए। त्यसैलै हामी चाहिँ आफ्नै गाउँमा चिया उत्पादनको अभियानमा लाग्यौँ।’ चियाबाट प्रत्येक घरले आम्दानी लिन थालेको उनको भनाइ छ।

गाउँमा एक घर एक चिया बगान अभियान चलाइएको छ। सबैले गरेर ७० हजार चियाका बोट रोपिएका छन्। चिसो हावा भएका कारण कामीडाँडाको चिया स्वादिष्ट मानिन्छ। यो स्थान २५ सय मिटरको उचाइमा छ। कृषकका अनुसार चियाको बोट रोपेको दुई वर्षदेखि नै सामान्य उत्पादन हुन्छ। पाँच वर्षपछि बोटले पूरा उत्पादन दिन्छ। सातामा दुई पटकसम्म चिया टिप्न सकिन्छ। पात चैतदेखि मंसिरसम्म टिपिन्छ। उत्पादित चिया सहकारी र व्यापारीमार्फत पनौती, बनेपा, भक्तपुर र काठमाडौंमा बेचिन्छ। केही विदेश निर्यात हुन्छ।

यद्यपि चिया प्रशोधनको आधुनिक प्रविधि कामीडाँडाबासीसँग छैन। त्यसैले क्षमताअनुरूप उत्पादन हुन नसकेको स्थानीय रहर लामा बताउँछन्। प्रविधि र बजार व्यवस्थापनमा सरकारले सघाउनुपर्ने उनको भनाइ छ। अग्र्यानिक चिया मात्रै होइन, कामीडाँडामा तरकारीखेती र पशुपालन पनि गरिन्छ। यो स्थान पर्यटकीय गन्तव्य समेत बन्दै गएको छ। कामीडाँडामा युद्धभरी माओवादीका कुनै न कुनै केन्द्रीय नेताको बास टुटेन। तालिम, बैठक सबैथोक भए। युद्धका योजना बने। माओवादीलाई स्थानीयले पनि खुब सहयोग गरे। तर उच्च ओहोदामा पुगेपछि नेताहरूले त्यो गुन बिर्सेको कामीडाँडाबासीको भनाइ छ। प्रचण्ड, बाबुराम दुवै प्रधानमन्त्री बने पनि आफूहरूलाई बेवास्ता गरेको आरोप स्थानीयले लगाए।

युद्ध सकिएको ११ वर्षपछि चुनावअघि प्रचण्ड कामीडाँडा आएका थिए। त्यसबेला उनी प्रधानमन्त्री थिए। उनले बाटो, शिक्षा, स्वास्थ्य संस्था, खानेपानीजस्ता सुविधाको आश्वासन दिएका थिए। तर त्यो पूरा नभएको स्थानीय माइला तामाङले बताए। ‘जनयुद्धमा गरेको प्रतिबद्धता र आश्वासन मात्र पूरा गरे हुन्छ। हामीलाई व्यक्तिगत केही गर्नु पर्दैन,’ उनले भने। कामीडाँडालाई प्रयोग गरेर सत्तामा पुगेपछि नेताहरूले आफूलाई भुलेकोमा केहीले दुःख व्यक्त गरे। ‘संकटको समयमा हामीले गाँस कटाएर कछि छाक भात खान दियौँ। रातभर पहरा दियौँ। अहिले हामीलाई चिन्दैनन् नेताहरूले। दुः ख लाग्छ, छोरा जसरी पालेका थियौँ,’ एक स्थानीय वृद्धाले भनिन्। यो समाचार आजको अन्नपूर्णपोष्टमा छ ।