जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन वनमन्त्री स्पेन प्रस्थान

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन वनमन्त्री स्पेन प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप-२५) मा नेपालले हिमालयहरुमा हिउँ पग्लने क्रम बढेको विषयमा ध्यानाकर्षण गराउने भएको छ । साथै जलवायु परिवर्तनमा कम योगदान भएर पनि नेपालजस्ता अति प्रभावित मुलुकले क्षतिपूर्तिस्वरुप पाउनुपर्ने ‘ग्रीन क्लाइमेट फण्ड’ (हरित जलवायु कोष) उपलब्ध गराउन लबिङ गर्ने भएको छ ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप-२५) मा सहभागी हुन स्पेनको म्याड्रिड प्रस्थान गर्नुअघि वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले यो जानकारी दिएका हुन् । मन्त्री बस्नेत गएराति म्याड्रिड प्रस्थान गरेका छन् । उनको साथमा राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओली लगायतको नेपाली प्रतिनिधिमण्डल छ ।

स्पेनको म्याड्रिडमा सुरु कोपको विशेष सभालाई मन्त्री बस्नेतले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । म्याड्रिड उड्नुअघि मन्त्री बस्नेतले नेपालले यस पटक हिमालयहरुमा हिउँ पग्लने क्रम तीव्र भएको विषयमा सभाको ध्यानाकर्षण गराउने जानकारी दिए । विश्व तापमानमा परेको नकारात्मक प्रभावले उत्पन्न विषम परिस्थितिको सामना गर्ने सम्बन्धमा योजना तय गर्ने प्रस्ताव नेपालको तर्फबाट राख्ने मन्त्री बस्नेतको भनाइ छ ।

यस्तै सम्मेलनमा नेपालले अधिक कार्बन उत्सर्जन गरिरहेका विकसित मुलुकहरुले नेपालजस्ता जलवायु परिवर्तनमा कम योगदान भएर पनि अति प्रभावित गरिब तथा तेश्रो मुलुकले क्षतिपूर्तिस्वरुप पाउनुपर्ने ‘ग्रीन क्लाइमेट फण्ड’ ९हरित जलवायु कोष० उपलब्ध गराउन लबिङ गर्नेछ ।

यसअघि दक्षिण अमेरिकी मुलुक चिलीको सान्टियागोमा तय भएको कोप-२५ त्यहाँको सरकारले विषम राजनीतिक परिस्थितिका कारण व्यवस्थापन गर्न अक्षम रहेको बताएपछि स्पेन सारिएको हो ।

मंसिर १६ मा सुरु भएर २७ सम्म चल्ने सम्मेलनमा विश्वका १ सय ९७ मुलुकका राष्ट्र तथा सरकार प्रमुख, वातावरणमन्त्रीहरुका साथै जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधि सहभागी छन् । मन्त्री बस्नेत सम्मेलनमा सहभागी भएर २९ मंसिरमा स्वदेश र्फकने कार्यक्रम छ ।