सर्वाेच्च प्रशासनले रिट दर्ता नगरेपछि बार एशोसिएशन आन्दोलित

सर्वाेच्च प्रशासनले रिट दर्ता नगरेपछि बार एशोसिएशन आन्दोलित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आपत्ति प्रकट गर्दै आन्दोलन घोषणा गरेको छ ।

बारले अदालत प्रशासनको कार्यलाई समानान्तर न्याय प्रशासनको अभ्यास गरेको भन्दै यस्तो अवस्था तत्काल अन्त्य गर्न माग गरेको छ ।

बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा विगत केही समयदेखि सर्वोच्च अदालतमा दायर भएका संवैधानिक महत्वका रिट निवेदनहरू अदालत प्रशासनले दरपीठ गरी फर्काउने तथा त्यसविरुद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरेर न्यायमार्ग अवरुद्ध पारिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिअनुसार नेपालको संविधान, न्याय प्रशासन ऐन, २०७३ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को व्यवस्था प्रयोग गर्दै कायममुकायम प्रधान न्यायाधीशले दरपीठ विरुद्धको निवेदन दर्ता गर्न आदेश दिएको भए पनि अदालत प्रशासनले आदेशको समेत पालना नगरेको आरोप लगाइएको छ ।

नेपाल बारले अदालत प्रशासनको यस्तो रवैयालाई असाधारण र अप्राकृतिक भन्दै यसले न्याय प्रशासनको इतिहासमा गम्भीर प्रश्न उठाएको जनाएको छ । अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न नहुने संवैधानिक व्यवस्था हुँदाहुँदै प्रतिनिधि सभामा अदालतमा विचाराधीन विषयमा भएको बहसप्रति पनि बारले आपत्ति जनाएको छ ।

बारले संसद्मा व्यक्त गरिएका आवेश प्रेरित र दम्भमा आधारित अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै यस्ता अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन तथा भविष्यमा पुन: नदोहोरिने व्यवस्था गर्न सभामुखसमक्ष अनुरोध गरेको छ ।

यसैबिच, नेपाल बार एशोसिएशनले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । बारले जेठ ५ गते दिउँसो १:१५ बजे बार प्राङ्गणमा लालटिन बालेर अदालत प्रशासनको कार्यशैलीविरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको छ । आगामी दिनमा सल्लाहकार र इकाइबाट प्राप्त सुझावका आधारमा थप कार्यक्रम सार्वजनिक गरिने उल्लेख गरिएको छ ।