प्रधानन्यायाधीश जबराको प्रस्ताव बारले गर्‍यो अस्वीकार

प्रधानन्यायाधीश जबराको प्रस्ताव बारले गर्‍यो अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको प्रस्ताव अस्वीकार गरेको छ । प्रधानन्यायाधीश जबराले वार्तामा आउन आह्वान गरेलगत्तै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरु वार्तामा नबस्ने जवाफ दिएका हुन् ।

सोमबार सर्वोच्च परिसरमा प्रधानन्यायाधीशको विज्ञप्तिमा जवाफ दिँदै अध्यक्ष श्रेष्ठले राजाले दिएको अधिकारसँग तुलना गरेका छन् । उनले प्रधानन्यायाधीशको विश्वास गर्न सकिने अवस्था नरहेको भन्दै राजीनामा दिएर निकास दिन आग्रह गरे ।

‘जबराको विज्ञप्तिको कुनै अर्थ छैन । उहिले राजाले पनि लौ अधिकार दियौँ भनेर विज्ञप्ति निकालेकै हुन् यो त्यस्तै हो’, श्रेष्ठले भने, ‘प्रधानन्यायाधीशको विश्वास गर्न सकिने अवस्था छैन, बरु आजै राजीनामा दिएर निकास दिनुस् ।’

यस्तै अधिवक्ता रूद्रप्रसाद नेपालले प्रधानन्यायाधीश विचौलियाको नाइके भएको बताउँदै उनीसँग कुनै पनि वार्ता नहुने प्रष्ट पारेका छन् ।

यता बारका पूर्व कोषाध्यक्ष परशुराम कोइरालाले न्यायालय सुधारको अभियानमा बाधक नबन्न आग्रह गर्दै राजीनामा दिन आग्रह गरे ।

प्रधानन्यायाधीश जबराले बारलाई वार्ताका लागि आह्वान गरेका थिए । उनले पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिने भन्दै वार्ताका लागि आह्वान गरेका थिए । प्रधानन्यायाधीश जबराले एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोज्न पनि आग्रह गरेका थिए ।

उनले भनेका छन्, ‘नेपाल बार एशोसियसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायतका बार ईकाइहरू न्यायपालिकाको अभिन्न अङ्ग हुन् । वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एशोसियसनलाई संवादका लागि हार्दिकआह्वान समेत गर्दछु ।’