काठमाण्डु – बारा–२मा यसपटक नयाँ अनुहारहरूको प्रवेशले पुराना तथा स्थापित दलका उम्मेदवारलाई कडा चुनौती दिएको छ ।
यस क्षेत्रमा २०७२ र २०७९ का प्रतिनिधि सभा निर्वाचन तथा त्यसपछिको उपनिर्वाचन जितेको जसपा–नेपालले यसपटक सिट जोगाउन कठिन प्रतिस्पर्धा सामना गर्नुपरेको छ ।
यस निर्वाचनमा विभिन्न दलका २९ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रमुख प्रतिस्पर्धीहरूमा जसपा–नेपालका रामकिशोर यादव, नेपाली कांग्रेसका भैयाराम यादव, एमालेका बलबीर चौधरी, नेकपाका रमेश यादव, रास्वपाका चन्दन सिंह र प्रगतिशील लोकतान्त्रिक पार्टीका शिवचन्द्र कुशवाहा चुनावी मैदानमा छन् ।
विगतको चुनावी इतिहास
यस क्षेत्रमा २०७२ र २०७९ मा जसपाका राम सहाय प्रसाद यादव जितेका थिए । उपराष्ट्रपतिमा निर्वाचित भएपछि २०७९ को उपनिर्वाचनमा पार्टी अध्यक्ष उपेन्द्र याद विजयी भए । उनी २०७९को निर्वाचनमा सप्तरी–२बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।
यसपटक जसपाका रामकिशोर यादव पुनः मैदानमा छन् । उनी २०७९मा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए र त्यसपछि भएको उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गरेका थिए । उनी आफूलाई बलियो जनाधार रहेको दाबी गर्दै जितप्रति विश्वस्त छन् ।
कांग्रेसभित्रै चुनौती
नेपाली कांग्रेसका उम्मेदवार भैयाराम यादवले सबै नेता तथा कार्यकर्ताको साथ नपाएको स्वीकार गरे पनि धेरै कार्यकर्ता दिनरात सक्रिय रहेको दाबी गर्छन् । महागढीमाई नगरपालिका र सूर्यन गाउँपालिकामा कांग्रेसको प्रभाव बलियो भएकाले आफूलाई फाइदा पुग्ने उनको दाबी छ ।
तर उनले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा जिल्ला सभापति रहिसकेका राधेचन्द्र यादवसँग आन्तरिक प्रतिस्पर्धा खेप्नुपरेको छ । राधेचन्द्रका छोरा राजेश राय यादव हाल बारा कांग्रेसका जिल्ला सभापति छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका शिवचन्द्र कुशवाहाले जनयुद्धदेखि मधेश आन्दोलनसम्म सक्रिय भूमिका खेलेको उल्लेख गर्दै मतदाताले आफ्नो योगदानको कदर गर्ने विश्वास व्यक्त गर्छन् । २०७९ मा उनी ३५४ मतले पराजित भएका थिए ।
यस्तै एमालेका बलबीर चौधरीले उत्तरी क्षेत्रको संगठन बलियो रहेको बताउँदै अघिल्ला प्रतिनिधिले उल्लेखनीय काम नगरेकाले यसपटक मतदाताले परिवर्तन चाहने दाबी गरे ।
रास्वपाका चन्दन सिंहले संगठन कमजोर भए पनि जनसमर्थन बलियो रहेको दाबी गर्छन् । उनी २०७२ मा देवताल गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए । २०७९मा यस क्षेत्रमा रास्वपालेसमानुपातिकतर्फ २,८०० मत पाएको थियो ।
यस निर्वाचन क्षेत्रमा १ लाख १३ हजार मतदाता छन् । देवताल, पचरौता, करैयामाई गाउँपालिका, गढीमाई नगरपालिका तथा कोल्हबी नगरपालिका–८ गरी पाँच स्थानीय तह र ४४ वडाहरू समेटिएका छन् ।
यसपटक नयाँ र पुराना अनुहारबीचको प्रतिस्पर्धाले बारा–२ मा रोचक र कडा चुनावी भिडन्त हुने संकेत देखिएको छ ।




प्रतिक्रिया