बाराको कलैया उपमहानगरमा बहुपक्षीय प्रतिस्पर्धाको सम्भावना, गठबन्धन दलबीच तालमेलको सकस

बाराको कलैया उपमहानगरमा बहुपक्षीय प्रतिस्पर्धाको सम्भावना, गठबन्धन दलबीच तालमेलको सकस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बारामा रहेका दुई उपमहानगरपालिकामध्ये एक हो कलैया । यो उपमहानगरमा अहिले चुनावी माहोल बढ्दै गएको छ । गत चुनावमा यो उपमहानगरमा कांग्रेसले बाजी मारेको थियो । यद्यपि, एमाले र मधेस केन्द्रित दलले पनि हाराहारीमा मत ल्याएका थिए । आगामी चुनावमा पनि यिनै दलबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अघिल्लो चुनावको परिणाम

०७४ को स्थानीय तह निर्वाचनमा कलैया उपमहानगरपालिकाको मेयरमा कांग्रेसका राजेश राय यादव झिनो मतान्तरले विजयी भएका थिए । उनले १० हजार नौ सय तीन मत पाए भने निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार विनोदप्रसाद साहले १० हजार सात सय १६ मत ल्याए ।

अर्थात् जम्मा एक सय ८७ मतान्तरले यहाँ मेयरको फैसला भयो । तेस्रो स्थानमा रहेका तत्कालीन संघीय समाजवादी फोरमका प्रमोदप्रसाद गुप्ताले नौ हजार चार सय चार, चौथोमा माओवादी केन्द्रका मुकेश साहले चार हजार तीन सय ७१ र पाँचौँमा राष्ट्रिय जनता पार्टीका जयप्रकाश साह तेलीले तीन हजार एक सय २२ मत ल्याए । त्यतिबेला १३ सय ६ मत ल्याएको लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको छ ।

उपमेयरमा पनि कांग्रेसका रहिमा खातुन १० हजार पाँच सय ३८ मत पाएर विजयी भइन् । एमालेकी प्रतिमाकुमारी यादवले १० हजार तीन सय ७२ तथा समाजवादी फोरमकी लक्ष्मीदेवी पटेलले आठ हजार सात सय आठ मत ल्याए । यस्तै, माओवादीकी नाजमा खातुनले चार हजार एक सय ४७ तथा राजपाकी पिंकी कुमारीले तीन हजार नौ सय १४ मत ल्याइन् ।

उपमेयरमा पनि निकै कम मतान्तरले कांग्रेसका उम्मेदवार विजयी भए । वडामा मिश्रित परिणाम आयो । २७ वडामध्ये एमालेले आठवटामा अध्यक्ष जित्यो । कांग्रेसले ६, समाजवादी फोरमले पाँच, माओवादी केन्द्रले तीन तथा राजपाले एक वडाध्यक्षमा जित निकाले । पछि कांग्रेससँग मिलेको लोकतान्त्रिक फोरम र स्वतन्त्रले दुई–दुई वडाध्यक्ष जिते । लोकतान्त्रिक फोरम मिसिएपछि कांग्रेसका वडाध्यक्ष पनि एमालेकै बराबर आठ पुगेका थिए ।

दलहरूको समीकरण र सम्भावित नतिजा

कलैयामा सत्तासाझेदार दलबीच तालमेलका लागि छलफल भइरहेको छ । तर, मेयरमा मुख्यतः कांग्रेस र जसपाको दाबीका कारण मिल्न सकेको छैन । जसपाले आफू पहिलेको समाजवादी फोरमभन्दा बलियो भएको भन्दै मेयरमा दाबी गरिरहेको छ । कांग्रेस पहिले पनि जितेकाले स्वाभाविक दाबेदार देखिन्छ । माओवादीले जितपुर–सिमरामा मेयर पाए कलैयामा छाड्ने नत्र उम्मेदवारी दिने बताइरहेको छ ।

एकीकृत समाजवादीले पनि एमालेका धेरै मत आफूले ल्याएको भन्दै कम्तीमा उपमेयर पाउनुपर्ने बताइरहेको छ । त्यसैले गठबन्धनकारी दलबीच चर्को मतभेद देखिन्छ । यदि सत्तासाझेदार दलबीच गठबन्धन बन्न सकेन भने कलैयामा कांग्रेस, एमाले र जसपाबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ । अन्यसँग सम्भव नभए माओवादी र एकीकृत समाजवादीले भने मिलेर लड्ने तयारी गरिरहेका छन् । त्यस्तो अवस्थामा कलैयामा चौपक्षीय प्रतिस्पर्धा हुन सक्छ ।

लोकतान्त्रिक फोरमसँगको एकीकरणपछि कांग्रेस पहिलेभन्दा बलियो भएको छ । यस्तै, तत्कालीन राजपाका केही नेतालाई समेत तानेकाले जसपा पनि उत्साहित देखिन्छ । एमालेले पनि अन्य दलका कार्यकर्तालाई पार्टीमा प्रवेश गराइरहेको छ । यस्तो अवस्थामा चुनावमा कसले बाजी मार्छ भन्न गाह्रो छ । तर, एमालेलाई एकीकृत समाजवादीका कारण अप्ठेरो हुन सक्ने विश्लेषकको तर्क छ । किनकि एकीकृत समाजवादीले केही हजार मत लैजाने अनुमान छ ।

अहिलेसम्मको अवस्था हेर्दा सत्तासाझेदार दलबीच पनि दुईवटा गठबन्धन हुने सम्भावना बढी देखिन्छ । त्यसो भयो भने प्रतिस्पर्धा रोचक हुनेछ ।

मेयरका दाबेदार

कलैयाको मेयरका लागि कांग्रेसबाट अहिलेका मेयर राजेश राय यादवसहित पुराना नेता रामानन्द यादव र पूर्वखेलाडीसमेत रहेका फुलमहम्मद मियाँले दाबी गरेका छन् । एमालेबाट यसअघि उम्मेदवारी दिएर पराजित भएका विनोद साह मुख्य दाबेदार देखिएका छन् । उनी एमाले जिल्ला अध्यक्ष हुन् । जसपाबाट प्रमोद गुप्ता मुख्य दाबेदार छन् ।

उनी संविधानसभा निर्वाचनमा पनि बारा ३ बाट निर्वाचित भएका थिए । जसपाका जिल्ला उपसभापति पवन ब्याहुत, धर्मेन्द्र यादव, शिवनाथ पटेल पनि मेयरको उम्मेदवारका आकांक्षी हुन् । माओवादीबाट अघिल्लो चुनावका प्रत्याशी मुकेश साह मुख्य दाबेदार देखिएका छन् ।

मतदाता कति बढे ?

कलैया उपमहानगरपालिकामा १३ हजार आठ सय ६६ जना मतदाता बढेका छन् । आगामी निर्वाचनका लागि ७० हजार तीन सय ५६ मतदाता पुगेको निर्वाचन आयोगले जनाएको छ । जसमा पुरुष ३९ हजार ६ सय ६२ र महिला ३० हजार ६ सय ९३ जना छन् । पाँच वर्षअघि पुरुष ३२ हजार ९० र महिला २४ हजार तीनसय ९९ गरी ५६ हजार चार सय ९० मतदाता थिए ।