टोर्नाडो बारा र पर्सामा आयो, नेपाली नाम जुराउँदै विज्ञ


काठमाडौ‌ – नेपालको बारा, पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम राख्न विज्ञहरू बहसमा जुटेका छन्। यसरी भूमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली नामकरण स्थानीय परिचय दिने गरी राखिनुपर्ने बहस चलेको छ।

सोही अनुसार नै जल तथा मौसम विज्ञान विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय स्थित वातावरण विभागलगायत मौसमको क्षेत्रमा काम गरिरहेका विज्ञहरू नामकरणमा जुटेका हुन्। वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले भने, बारा, पर्सामा अध्ययन गर्न गएको टोलीले ल्याउने विवरणसँगै नामका बारेमा थप छलफल हुनेछ, स्थानीय पहिचान दिनेगरी नाम राख्न जरुरी हुन्छ।

सेन्टिनियल स्याटलाइटले १० मिटर ‘स्प्याटुअल रिजोलुसन’मा खिचेको तस्बिरको अध्ययनपश्चात् नेपालमा टोर्नाडो आएको पुष्टि मौसमविद्ले गरेका थिए। ‘स्प्याटुअल रिजोलुसन’ भन्नाले कुन क्षेत्र र कति विस्तृत विवरण देखायो भन्ने हुन्छ। एक पिक्सल बराबर १० मिटर लम्बाइ र १० मिटर चौडाइ क्षेत्रको विवरण तस्बिरमा थियो। त्यो विश्लेषणले टोर्नाडो आएको प्रस्ट पारेपछि नै टोली तत्काल बारा, पर्सा अध्ययनमा जुटेको विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए।

टोर्नाडोबाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु हुनुका साथै झण्डै २५ सय घर क्षतिग्रस्त भएका छन्। नेपालमै पहिलो पटक यसरी अमेरिकामा आइरहने जस्तै टोर्नाडो यहाँ देखिएको वैद्यले बताए। अमेरिकी क्षेत्रमा बढी आइरहेको टोर्नाडो पछिल्लो समय दक्षिण एसियाली मुलुकको बङ्गलादेशबाहेक अन्यत्र देखिएको थिएन ।

दक्षिण एसियामा बङ्गलादेशपछि टोर्नाडो आउने दोस्रो मुलुक नेपाल रहेको दाबी वैद्यले गरे। अमेरिकामा आउने टोर्नाडोको गति सामान्यतया दुई सय किलोमिटर प्रतिघण्टाको हुन्छ। उच्च टोर्नाडोको शक्तिशाली गति चारसय किलोमिटर प्रतिघण्टासम्म हुनेगर्छ। अमेरिकामा सन् १९२५ को मार्च १८ मा तीन राज्य प्रभावित पार्ने गरी शक्तिशाली ‘ट्रि–स्टेट टोर्नाडो’ आएको थियो।

जसले सबैभन्दा लामो ३५२ किलोमिटरको बाटो बनाएको थियो। साढे तीन घण्टा लगातार त्यो टोर्नाडो चलेको थियो। दक्षिण एसियाली मुलुकमा भने सन् १९८९ अप्रिल २६ मा बङ्गलादेशमा ठूलो ‘धौलापुर–स्याटुरिया टोर्नाडो’ आयो। जसले करिब १३ सय मानिसको ज्यान लिएको थियो। त्यसपछि पटक पटक गरी आएको १९ टोर्नाडोमा परी विश्वमै टोर्नाडोका कारण मारिएका कुलमध्ये आधा जनसङ्ख्याको मृत्यु भएको विभिन्न तथ्याङ्कले देखाउँछ। यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement