माओवादीका समसेर सिंहले विजय उत्सव मनाइसके, यता सिल नै नतोडिएको मतपेटिका भेटियो

माओवादीका समसेर सिंहले विजय उत्सव मनाइसके, यता सिल नै नतोडिएको मतपेटिका भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिवास – ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी छ । यसैक्रममा तीन दिनअगाडी बर्दिबास नगरपालिका–८ मा मतपरिणाम घोषणा गरियो ।

निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले मत गणना सकिएको भन्दै माओवादी केन्द्रका उम्मेदवार समसेर सिंहलाई वडाअध्यक्ष घोषणा गर्यो । वडाध्यक्षमा निर्वाचित भएको घोषणा भएपछि सिंहले पनि विजय उत्सव मनाए । खुसी साटासाट गरे । यता मतगणनामा धाँधली भएको आरोपसहित एमालेले विरोध जनाइरहेको थियो ।

पार्टीको पकड बलियो मानिएको बर्दिबासको मेयरमा माओवादीका उम्मेदवार तेस्रो स्थानमा छ । वडाध्यक्षमा त्यस्तै परिणाम आएको बेला समसेर विजय भएकाले माओवादीले पनि खुसी साट्यो । तर, माओवादीको त्यो खुशी केहिदिन पनि टिक्न सकेन ।

बिहीबार निर्वाचन कार्यालय, बर्दिवासबाट आएको फोनले माओवादी केन्द्रसँगै समसेरलाई नराम्रो झड्का दियो । माओवादीलाई झड्का दिने विषय थियो– निर्वाचित भएर विजयउत्सव मनाइरहँदा सिल नै नतोडिएको मतपेटिका बक्स भेटिनु ।

सिल नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएको छ । निर्वाचन अधिकृत सापकोटाले गरेको घोषणाअनुसार माओवादी केन्द्रबाट लामाले आठ मतले उछिन्दै एमालेका रुद्र किङरिङलाई पराजित गरेका थिए ।
यता निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने स्टोरमा राख्ने क्रममा त्रुटि भएको जनाएको छ ।

‘वडा न.८ को मतपेटिका मतदान अधिकृतले दिएको जानकारीअनुसार नै रुजु गरियो र सबै मतपेटिका एकै ठाउँमा राखेका थियौ,’ सहायक निर्वाचन अधिकृत सर्मिला तामाङले भनिन् । उनका अनुसार सर्वदलीय बैठक राखेर यसको समाधान खोजिने छ ।

फूलमाला र अविरसहित विजय जुलुस मनाइसकेको माओवादी भने निर्वाचन आयोगको त्रुटिलाई स्विकार्ने अवस्थामा छैन । माओवादी केन्द्र प्रदेश कमिटी सदस्य राजन ढुंगानाले भेटिएको मतमेटिकालाई खोलेर पुनः मतगणना गर्नु कुनै अर्थ नरहेको बताए ।

‘निर्वाचन आयोगले माओवादी केन्द्रका शमशेरसिंह विजयी भएको घोषणा गरेसँगै निर्वाचन आयोगले समेत त्यसलाई प्रमाणीकरण गरिसकेको छ अनि मतपेटिका खोलेर मतगणना गर्नुको के नै अर्थ रहयो र ?,’ ढुंगानाले प्रतिप्रश्न गरे ।

निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने मानवीय भूललाई स्वीकार गरेर समाधानको निकास निकाल्नेमा आफूहरु विश्वस्त रहेको जनाएको छ । बर्दिबास नगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी नै छ । वडा नम्बर ९ को मतगणना सकिएपछि अन्तिम मतपरिणाम सार्वजनिक हुने पर्खाइमा बसेका सर्वसाधारण वडा नम्बर ८ विवाद नसुल्झिएसम्म प्रतीक्षामा रहनुपर्ने देखिएको छ ।

निर्वाचन आयोगले घोषणा गरेको वडा नम्बर ८ को मतपरिणामअनुसार माओवादी केन्द्रका शमशेरसिंह लामाले ७५३ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङले ७४४ मत पाएका थिए । नखोलिएको मतपेटिकामा अझै ८० देखि ८५ मतपत्र हुनसक्ने आसंका गरिएको छ । एमालेले भने सिल नतोडिएको मतपेटिका भए बाँकी मतगणना गर्नुपर्ने माग अघि सारेको छ ।