काठमाण्डु – नागरिकता नपाउँदा बर्दियामा बुवाछोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार घरमै पुगेर घटनाको यथार्थ विवरण बुझ्दै मृतक अन्जु थारुकी ७ वर्षीया छोरी अनिता थारुको जन्मदर्ता र ६१ वर्षीय बुवा कान्छा थारुको मृत्युदर्ता स्थानीय वडा कार्यालयमा गरिएको छ ।
समिति सदस्य तथा गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्यालले भने, ‘घटनास्थलमा आएर हामीले समग्र वस्तुस्थिति बुझ्दा मुख्य समस्या अन्जुको छोरीको जन्मदर्ता र उनका बुवाको मृत्युदर्ता नभएको भन्ने थाहा भएकाले त्यो समस्या अब निराकरण भएको छ । हामीले आज वडा कार्यालयमै पुगेर अन्जुको बुवाको मृत्युदर्ता र उनकी छोरीको जन्मदर्ता (अन्जुका श्रीमान् अनिलको नामबाट) जन्मदर्ता गरिदिएका छौं ।’
‘आज हामी समिति संयोजक सुरेश पन्थीज्यूको नेतृत्वमा सबै सदस्यहरू बढैयाताल–४ मा पुगेर समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरी बालिकाको जन्मदर्ता र अन्जुका बुवाको मृत्युदर्ता गर्ने प्रक्रिया सम्पन्न गर्यौं, बाँकी समस्या हामी बुझेर प्रतिवेदनमा खुलाउनेछौं,’ अर्यालले भने ।
अन्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा र पक्राउ पूर्जी जारी भएको छ भने मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको जनाएको छ ।
बर्दियाको बढैयाताल–४ दक्षिण भकारीकी २१ वर्षीया अन्जु थारू पतिबाट उपेक्षित भएपछि अदालतले अंशको फैसला गरेको थियो तर नागरिकता नहुँदा उनले अंश पाउन सकिनन् ।
गृह मन्त्रालयको मंसिर २१ गते सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव अर्याल र बर्दियाका सहायक सीडीओ अशोककुमार भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन बुझाउन ५ दिनको समयावधि दिइएको छ ।




प्रतिक्रिया