काठमाण्डु-काठमाडौंसहित अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका बागमती प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिममा वर्षा भएको छ । रातिको समय रातिको समयमा मनसुन बढी सक्रिय भई पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले सोमबारदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । विभागले बुलेटिन जारी गरी देशभर समान्यदेखि पूर्णतया बदली रही अधिकांश स्थानमा वर्षा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
जिल्लागत मनसुनी वर्षाको उच्च जोखिममा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम देखिन्छ भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवकोट र दोलखा रहेका छन् ।
वर्षाको उच्च जोखिममा गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची रहेका छन् । सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेका महाशाखाले जनाएको छ ।
यी दुईदिन सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायातका साधन प्रभावित हुने भएकाले आवश्यक सर्तकता तथा पूर्वतयारी अपनाउन सबैलाई मौसम विभागले अुनरोध गरेको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सप्तरीको रुपनी बजारमा १ सय ५९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै मोरङको हरैचामा १ सय १२ दशमलव ८, चितवनको शक्तिखोरमा १ सय १ , सिन्धुलाल्चोकको बाहुनेपाटीमा ९८ दशमलव ४, उदयपुरको मुर्कुची बजारमा ९२ दशमलव ४, काठमाण्डौको कपनमा ९० दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।
यस्तै सुनसरीको धरान, महोत्तरीको गौशाला, धनुषाको तुल्सी, ललितपुरको गोदावरी, म्याग्दीको मुना लगायतका जल मापन केन्द्रमा पनि ठूलो वर्षाको मापन भएको छ । यससँगै अरु विभिन्न क्षेत्रमा अहिले पनि पानी परेको छ ।
मकवानपुरको बकैया नदी जुरेलीबजार बाढीमापन केन्द्रको जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकोले बकैया नदीको बारासम्मकै तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेले सर्तकता अपनाउनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार सप्तरीको खाडो नदी, पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेको छ । यस्तै झापाको सिस्ने, मोरङको हरैँचा र केराबारी, सुनसरीको धरान बजार, सप्तरीको रुपनी बजार क्षेत्र भई वहने बिरिङ, चिस्याङ, लोहन्द्रा, केशलिया नदी र अन्य स–साना खोलामा पनि आकास्मिक बहावको जोखिम रहेको छ ।
यसैबीच, आजदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात् ’रेड अलर्ट’ जारी गरेको छ । विभागले आज र भोलिका लागि ३४ वटा जिल्लामा रेड अलर्ट जारी गरेको हो ।
विभागले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम, बाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक र धादिङ तथा गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोरखालाई खतराको सूचीमा राखेको छ ।
यस्तै लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची तथा सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा पनि विभागले रेड अलर्ट जारी गरेको छ । यस्तै मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, बाजुरा र बझाङबाहेकका अरू सबै जिल्लामा विभागले मध्यम जोखिम हुने भन्दै चेतावनी जारी गरेको छ ।
आज र भोलि बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह पनि गरेको छ । रातिको समयमा धेरै पानी पर्ने भएकोले चनाखो रहन र जोखिमयुक्त ठाउँमा नबस्न विभागको आग्रह छ ।
यस्तै राजमार्ग र हवाई यातायात पनि प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी अपनाउन विभागले सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।




प्रतिक्रिया