वर्षमान पुन कार्गो विमानबाट स्वदेश फर्कदै,माओवादीमा को बन्ला महासचिव ?


काठमाण्डु – माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कदै छन् । नेता पुन कार्गो विमानमार्फत आज राति ८ बजे काठमाण्डु आउन लागेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

उनीसंगै उनकी पत्नी पुर्व सभामुख ओनसरी घर्ती समेत स्वदेश फर्कदै छिन् । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । नेपालको सुमेरु अस्पताल र थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउंदा समेत वंशानुगत जण्डिस निको नभएपछि उनलाई चीन लगिएको थियो ।

पुर्व अर्थमन्त्री समेत रहेका नेता पुनको स्वास्थ्यमा अहिले निकै सुधार आएको छ । उनि माओवादी केन्द्रको महासचिवको दावेदार समेत हुन । माओवादी केन्द्रले अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन ।

माओवादी केन्द्रले माघ २७ मा केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने तयारी छ । तर, दावेदार धेरै भएकाले माओवादी नेतृत्वलाई सहमतिमा पदाधिकारी चयन गर्न अफ्ठेरो परेको छ । सहमति नभएको अवस्थामा निर्वाचन गर्ने अध्यक्ष पुष्पकमल दाहालको तयारी छ ।

माओवादीमा पुनसहित शक्ति बस्नेत,जनार्दन शर्मा र पम्फा भुसाल महासचिवको प्रमुख दावेदार छन् । सिनियर नेताको हिसावले देव गुरुङलाई पनि महासचिवको रुपमा अघि सारिएको छ ।

पुन र शर्माले एक अर्कालाई स्विकार गर्ने अवस्था नभएको माओवादी स्रोत बताउंछ । त्यो अवस्थामा शक्ति बस्नेतको सम्भावना बढी छ । यसअघि शर्माले समेत बस्नेतलाई आफुलाई समर्थन गर्न आग्रह गरेका थिए । यदी त्यो सम्भव नभए आफुले नै प्रस्ताव गर्ने बताएको स्रोत बताउंछ ।

माओवादीभित्र शर्मा र पुनले अलग अलग गुट चलाएको आरोप छ । त्यसैले गुट भत्काउन अध्यक्ष दाहाललाई नेताहरुले सुझाव दिएका छन् । बस्नेत नभएको अवस्थामा गुरुङको सम्भावना बलियो छ । तर, पुन र शर्मा महासचिव बन्ने सम्भावना भने माओवादीमा कमजोर बन्दै गएको छ ।

माओवादी नेताहरु कृष्णबहादुर महरा,राम कार्की,हितराज पाण्डे,हरिवोल गजुरेल, हितराज पाण्डेलगायत नेताहरु तेस्रो विकल्पमा जानुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement