ओखलढुंगा- माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले नेपालका सबै कम्युनिष्ट पार्टीबीच एकता हुने बताएका छन् । ओखलढुंगामा शनिबार पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पुनले सबै धारा र प्रवृत्तिका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गरिने बताए ।
आफूहरुले समाजवाद कार्यान्वयन गर्ने सही नियतका साथ एमालेसँग एकता गरेको भए पनि केपी ओलीले स्वार्थको रणनीतिका रुपमा प्रयोग गरेकाले एकता दिगो नभएको पुनको भनाइ थियो ।
‘केपी ओलीले समाजवादका लागि, कम्युनिष्ट आन्दोलन बलियो बनाउनका लागि नभई प्रधानमन्त्री पदमा पुग्ने स्वार्थले एकता गर्नुभएको रहेछ भन्ने घटानक्रमहरुले पुष्टि गरेको छ’, पुनले भने, ‘ढिलो चाँडो फेरि कम्युनिष्ट पार्टीहरु एकतामा जानुपर्छ । कम्युनिष्ट पार्टीको एकता आवश्यक छ ।’ पुनले तर, अब एकता गर्दा विचार र प्रवृत्तिगत रुपमा माओवादी पार्टी र आन्दोलन हाबी हुने गरी गरिने स्पष्ट पारे ।
उनले माओवादीले सबै धारका कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्न एकताको झण्डा उठाउने जानकारी दिए । ‘एकता हिजो पनि जरुरी थियो, आज पनि जरुरी र आवश्यक छ, फेरि पनि एकताको बाटोबाट अगाडि जानुपर्छ’,उनले भने , ‘माओवादी केन्द्रले फेरि ध्रुवीकरणको प्रयास गर्छ, एकताले प्रयास गर्छ । हामी एकताको झण्डा उठाउँछौं ।’ यद्यपि तत्कालै एकताको सम्भावना भने नरहेको उनको भनाइ थियो ।
पुनले माओवादीले एमालेसँग गठबन्धन गरेपछि गरेका गल्तीका लागि पूर्णकालिन कार्यकर्ता, जनमुक्ति सेना, शहदि तथा बेपत्ता परिवारलाई खोजीखोजी एकताबद्ध बनाउने र एकै ठाउँमा उभिने वातावरण बनाउने धारणा राखे ।
‘अब हामी हाम्रा मान्छे खोज्छौं, ०६४ मा ३४ लाख भोट थियो । अहिले १६ लाखमा झरेको छ । हामी बीचमा गल्ती भयो, असल नियतले गठबन्धन गरियो । आफ्नो शक्ति, विचार सुदृढ गरेर आफ्ना मान्छेलाई गोलबन्द गरेपछि मात्र हुने रहेछ भनेर हामी गाउँगाउँ जान्छौं । पूर्णकालिन कार्यकर्ता, जनमुक्ति सेना, भाइते, अपांग, शहीद बेपत्ता परिवार खोज्छौं’, पुनले भने ।
भोटको राजनीतिमा पार्टी कहिले सानो र कहिले ठूलो हुने भन्दै पुनले मुलुक अहिले पनि माओवादी एजेण्डामै अघि बढेकाले आफूहरु कमजोर नभएको दाबी गरे ।
‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय माओवादीका एजेण्डा हुन’, पुनले भने, ‘आज यी सिंगो देशको र सबै पार्टीको साझा राष्ट्रिय एजेण्डा बनेको छ, अहिलेको संविधानका कयौं प्रावधानमै माओवादी एजेण्डा छन् ।’
पुनले अब एकता गर्दा ओलीको नभई माओवादीको नेतृत्व हुने बताए । ‘एकताको झण्डा उठाउनुको अर्थ हामीले सबैलाई विचार र प्रवृत्तिले नेतृत्व गर्ने भन्ने हो । अब ओलीले होइन, हामीले एकताको पहल गर्ने हो ।’ एकताअघि आफूहरुले सु–संगठित र व्यवस्थित पार्टीका रुपमा माओवादी केन्द्र सञ्चालन गर्ने र आफ्नो खुट्टामा आफैं उभिने पुनले उल्लेख गरे ।




प्रतिक्रिया