प्रधानमन्त्री ओलीले नेताहरुको फोन ट्यापिङ गरिरहेका छन्ः पूर्वमन्त्री पुन

प्रधानमन्त्री ओलीले नेताहरुको फोन ट्यापिङ गरिरहेका छन्ः पूर्वमन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लिबाङ – नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुको फोन ट्यापिङ गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार रोल्पाको लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै पूर्वउर्जामन्त्रीसमेत रहेका नेता पुनले प्रधानमन्त्री ओलीले सञ्चारका साधनहरुमा कुरा गर्न नमिल्ने गरी नेताहरुलाई आतंकित पारेको आरोप लगाएका छन् । उनले लोकतान्त्रिक संविधान भएको देशमा ओलीको उक्त कार्य स्वीकार्य नहुने बताएका छन् ।

‘सबै नेताहरुका टेलिफोन ट्यापिङ भइरहेको छ । नेताहरुले फोनमा गोप्य कुरा गर्न मिल्दैन,’, उनले भने, ‘सञ्चारका साधनहरुमा कुरा गर्न नमिल्ने गरी नेताहरुलाई आतंकित गरिएको छ । हाम्रोजस्तो लोकतान्त्रिक संविधान भएको देशमा यो स्वीकार्य हुन सक्दैन ।’

पूर्वऊर्जामन्त्रीसमेत रहेका पुनले संविधानमा कतै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै दलभित्र असहयोग भएको बहानामा जनताको मतको अपमान गर्ने छुट संविधानले प्रधानमन्त्रीलाई नदिएको बताए ।

उनले अन्तर्राष्ट्रिय गुप्तचर निकायका मानिसहरुले प्रधानमन्त्री भेटेर फर्किएको र पूर्वराजासँग साँठगाँठको हल्ला चलिरहेका बेला संसद विघटन हुनुलाई गम्भीर रुपमा लिएको बताए ।

‘मलाई केही नेताले मन पराएनन् भन्ने आधारमा संसद विघटन गरिएको छ । पार्टीमा झगडा हुँदा वा प्रधानमन्त्रीको मन्त्रीसँग मतभेद हुँदा संसद विघटन गर्न पाउने या यस्तै कुनै आधार र कारणले संसद विघटन गर्ने ठाउँ छैन, हामी यसलाई कथित विघटन भन्छौं,’ उनले भने ।

त्यस्तै पूर्वमन्त्री पुनले प्रधानमन्त्री अ‍ोलीले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसनधान विभाग आफू मातहत राखेर उद्योगी व्यवसायीलाई तर्साउने काम गरेको बताएका छन् ।

‘सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग आफू मातहत राखेर उद्योगी व्यवसायीलाई तर्साएर आत्मसर्पण गर्नेलाई आत्मसमर्पण गराउने र नगर्नेलाई कारबाही गर्ने काम भयो’, उनले भने, ‘हामीले सबै अधिकार एउटै व्यक्तिका अधिनमा राखेर मानिसहरुलाई आतंकति पार्ने खालको लोकतन्त्र ल्याएका होइनौं ।’