महासचिव बन्नेमा ‘ढुक्क’ छन् वर्षमान


काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार काठमाण्डु आइपुगे । लामो समय चिनमा उपचार गरेर स्वदेश फर्किदा उनी निकै उत्साही देखिन्थे ।

पत्नी ओनसरी घर्तीसहित हिमालयन एयरलाइन्सको कार्गो विमानबाट फर्किएका उनले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै आफू स्वस्थ भएको बताए । विमानस्थलमा केही महत्वपूर्ण अभिव्यक्ति दिँदै उनले पार्टी महासचिवमा आफ्नो दाबी रहेको पनि बताए ।

अध्यक्षपछि शक्तिशाली र कार्यकारी मानिने दोस्रो पद महासचिवका लागि प्रभावशाली नेताहरुले लबिइङ तीब्र बनाइरहेका बेला नेता पुनले आफु महासचिव बन्नेमा ढुक्क भएको सन्देश दिए । उनले भरसक सहमति हुने र नभए निर्वाचनबाट आफू प्रतिष्पर्धामा जान तयार रहेको बताए ।

‘म यसअघि नै सचीव भैसकेकाले महासचिवमा दाबी हुनु स्वभाविक हो । मेरो दावी छ भन्ने कुरा सार्वजनिक रुपमा र साथीहरुसंग समेत भन्दै आएको हो । हाम्रो पार्टीमा अध्यक्ष सर्वसम्मत भइसक्नुभएको छ । सहमतिकै आधारमा बाँकी पदाधिकारी टुंग्याउने कसरत हुन्छ । सहमति भए पनि निर्वाचन भए पनि महासचिवमा मेरो दाबी रहन्छ,’ उनले भने ।

वर्षमान पुनले उपचारका लागि चिनियाँ कम्युनिस्ट पार्टी र उसको विदेश विभागको नामै लिएर धन्यवाद दिए । पुन चीनमा रहँदा नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेको थियो । उनले त्यहाँ प्रचण्डको आग्रहमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग समेत भेटघाट गरेका थिए ।

चीनसँग महत्वपूर्ण सम्बन्ध रहेको माओवादी केन्द्रमा पुनलाई चिनियाँ नेताहरुको चासो र प्राथमिकता रहनुलाई अर्थपूर्ण मानिएको छ । पुनलाई स्वागत गर्न माओवादीका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ पनि विमानस्थल पुगे ।

माओवादी केन्द्रले माघ २७ मा केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने तयारी छ । तर, दावेदार धेरै भएकाले माओवादी नेतृत्वलाई सहमतिमा पदाधिकारी चयन गर्न अफ्ठेरो परेको छ । सहमति नभएको अवस्थामा निर्वाचन गर्ने अध्यक्ष पुष्पकमल दाहालको तयारी छ ।

माओवादीमा पुनसहित शक्ति बस्नेत, जनार्दन शर्मा र पम्फा भुसाल महासचिवको प्रमुख दावेदार छन् । सिनियर नेताको हिसावले देव गुरुङलाई पनि महासचिवको रुपमा अघि सारिएको छ । अध्यक्ष प्रचण्ड पुनप्रति सकारात्मक छन् । यसकारण उनले बाजी मार्ने सम्भावना देखिएको छ ।

सोमबार बेलुका काठमाण्डु आइपुगेका नेता पुनले आज बिहानै बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता समेत गरेका छन् ।माओवादीको विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिवसहित १५ पदाधिकारी रहने व्यवस्था छ ।

लामो रस्साकस्सीपछि २९९ सदस्यीय केन्द्रीय समितिमा २३६ केन्द्रीय सदस्यको नाम महाधिवेशनको हलबाट प्रस्ताव गरिएको थियो । त्यसमध्ये खुलातर्फ १११ र समानुपातिक १२५ सर्वसम्मतिले पास भइसकेको छ । बाँकी ६३ जना र विधानले थप गर्न मिल्ने १५ प्रतिशत केन्द्रीय सदस्य पछि चयन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement