काठमाण्डु– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणपछि सत्तापक्षसँग भएको २ बुँदे सहमतिमा कुनै लेनदेन नभएको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पार्टीका तर्फबाट धारणा राख्दै पुनले संसद खोल्ने सम्झौता गर्दा पूर्वसभामुख अग्नी सापकोटाविरुद्धको मुद्दाबारे कुनै लेनदेन नगरिएको बताएका हुन् ।
पुनले भिजिट भिसाका सवालमा नागरिकका समस्या र चासो समाधान गर्न एक महिनाको समयसीमा निर्धारण भएको भन्दै आफूहरू भिजिट भिसाको समस्या समाधान गर्ने पक्षमै रहेको दाबी गरे।
उनले भने
आमजनताको भावना र सुझावलाई पनि ध्यानमा राख्दै हामीले भिजिट भिसा प्रकरणमा उठेका विषयलाई सम्वोधन गर्न गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेका थियौं । राजीनामा भन्ने कुरा व्यक्तिको निजी विषय हुन्छ । विपक्षी वा आमजनताको तहबाट ध्यानाकर्षण गराउने र सुझाव दिने मात्र हो । माननीय गृहमन्त्रीज्यूले राजीनामा दिन्न, तर छानविनका लागि तयार छौं भनेर प्रतिवद्धता गर्नुभयो ।
तीस दिनभित्र छानविन अगाडि बढाउनका लागि संरचना बनाउने प्रतिवद्धता आइसकेपछि हामी यो सदन नियमित गर्न प्रमुख प्रतिपक्ष दल र नेकपा एस सहमत भयौं । रास्वपाका माननीयज्यूहरुसित पनि अनुरोध गर्यौं ।
केही मान्छेले भनेका छन् कि माओवादी आफैंले पनि विगतमा गृहमन्त्रालय चलाएको भएर तर्सेको हो कि ? होइन, हामी तर्सेका छैनौं । हामी छानविनका लागि तयार छौं । सरकार तयार भएको छ । प्रमुख प्रतिपक्षको रुपमा हाम्रो निरन्तर सहयोग र खबरदारी हुन्छ ।
दुई बुँदे सहमति गर्दा पूर्वसभामुख अग्नी सापकोटाका मुद्दा वा प्रसंग जोडेर माओवादी तर्सियो भनियो । त्यस्तो होइन । कुनै लेनदेन होइन । अग्नी सापकोटाका मुद्दामा अदालतबाट आदेश आएका हुन् । त्यसको पूर्णपाठ आउन बाँकी छ ।
त्यसलाई सम्मान गर्छौं । पूर्णपाठ आएपछि आफ्नो धारणा बनाउने छौं । यो कुनै सम्बन्धित विषय होइन । लेनदेनको वा दवाव महसुस गरेको विषय होइन । म आमजनतालाई बताउन चाहन्छु । सरकार र सत्तातिर नजर गएको पनि होइन । कुनै भ्रम नरहोस् ।
रास्वपा र हामी हिजो अस्तिसम्म सँगै सदन अवरोध गरिरहेका थियौं । रास्वपाका माननीयज्यूलाइ पनि अनुरोध छ । उहाँहरु नयाँ दल हुनुहुन्छ । हामीले उठाएका विषय एक ढंगले सम्वोधन भएको छ । अब बजेटका विषयमा धारणा राख्न समय लिनुस ।
तपाईंहरुसँग नयाँ दलको अनुभव कमि छ । संसदीय संघर्षमा अनुभव नपुग्न सक्छ । यस्तो अनुभव हामीसित सिक्न अनुरोध गर्छु । सत्तापक्षका साथीहरुलाई पनि अलि संयमित ढंगले प्रस्तुत हुन आग्रह गछुृ । प्रमुख प्रतिपक्ष आइसक्यो, पेले पनि हुन्छ भन्ने ठानिनु हुँदैन ।




प्रतिक्रिया