संसदीय समितिमा मिडियालाई निषेध गर्न खोजिएकामा वर्षमानको आपत्ति

संसदीय समितिमा मिडियालाई निषेध गर्न खोजिएकामा वर्षमानको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टीका सांसद् वर्षमान पुन अनन्तले मिनी पार्लियामेन्टका रुपमा रहेका संसदीय समितिमा सञ्चार माध्यमलाई निषेध गर्ने प्रवृत्ति देखिएको भन्दै तत्काल सच्याउन माग गरेका छन् ।

बुधबार संसदको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले मिडियालाई निषेध गरेर कुनै छलफल हुन नहुने बताए ।

लोकतन्त्रमा सुशासन, जवाफदेहीता र पारदर्शीता सँगसँगै अगाडि जानुपर्ने उनको भनाइ थियो । ‘लेखा समितिसहित संसदका अरु समितिमा मिडिया राखेर छलफल हुनुपर्छ’, पुनले भने, ‘संसदीय समितिहरु सञ्चार माध्यमका लागि बन्द गरेर पारदर्शीता र लोकतन्त्रको कुरा गर्न मिल्दैन ।’

जनताले तिरेको करबाट राज्यले गर्ने खर्चको पारदर्शीता सुनिश्चित गर्ने भएकाले लेखा समितिको काम अरुभन्दा फरक प्रकृतिको रहेको उनले औंल्याए । ‘जनताको करबाट राज्यले गर्ने खर्चको परादर्शीता सुनिश्चित गर्ने समिति भएको हुनाले देश र जनतालाई केन्द्रमा राखेर समितिलाई प्रभावकारी बनाउनुपर्छ ।’

फरक प्रसंगमा उनले समितिले नयाँ र पुरानाका आधारमा नभई सही र गलतका आधारमा छलफल गर्ने पनि स्पष्ट गरे । पुराना सबै बेठीक र नयाँ सबै ठीक भन्ने आधारमा जान नहुने बताए । ‘राज्य सञ्चालनमा नयाँ र पुराना भन्ने हुँदैन । सही र गलत भन्ने हुन्छ’, पुनले भने, ‘सही र गलतका आधारमा मापदण्ड बन्नुपर्छ । पुराना त्यसै बेठीक र नयाँ सबै ठीक भन्ने हुँदैन ।’