काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय सवारीसाधन प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राखेकोे बताएका छन् ।
ललितपुरको हिमालय होटलमा बुधबार आयोजित विद्युतीय सवारीसाधन प्रवर्द्धन सम्मेलनलाई उद्धघाटन गर्दै मन्त्री पुनले काठमाडौं उपत्यकामा ट्रली बस र सफा टेम्पोको यातायात प्रयोग सफल भएकोले यसलाई आगामी दिनमा अझै प्रवर्द्धन गरिने बताए ।
विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्दा यातायात क्षेत्रमा आयात हुने इन्धनलाई समेत प्रतिस्थापन गर्न सकिने मन्त्री पुनको भनाइ थियो ।
मन्त्री पुनले १० वर्षयता पेट्रोलियम वस्तुको आयात चार गुणाले बढेको बताउँदै यसको अधिकांश हिस्सा यातायात क्षेत्रले ओगटेकोे बताए ।
छोटो समयमै जलविद्युत क्षमता बढिरहेकोले परम्परागत इन्धन प्रयोगलाई विशेष गरी यातायात क्षेत्रमा विद्युतीय इन्धनले प्रतिस्थापन गर्ने उनले बताए ।
सम्मेलनमा भारतीय नीति आयोगका प्रिन्सिपल एडभाइजर अनिल श्रीवास्तवलगायत उपस्थित थिए ।




प्रतिक्रिया