महासचिवमा दावी स्वभाविक हो, सहमति र निर्वाचन दुवैका लागी तयार छुः वर्षमान पुन  


काठमाण्डु– नेकपा (माओवादी) केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्केका छन् । चीनमा उपचार गरेर नेता पुन सोमबार सांझ हिमालयन एयरलाइन्सको कार्गो विमानबाट काठमाण्डु फर्केका हुन । पुनलाई स्वागत गर्न माओवादी नेताहरु नाराणकाजी श्रेष्ठ, झक्कु सुवेदी र नेता झक्कु सुवेदीलगायत विमानस्थल पुगेका थिए ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै उनले पार्टी महासचिवमा आफ्नो दाबी रहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका नेता पुनले महासचिवमा आफ्नो दावेदारी स्वभाविक रहेको बताए ।

‘म यसअघि नै सचीव भैसकेकाले महासचिवमा दाबी हुनु स्वभाविक हो । मेरो दावी छ भन्ने कुरा सार्वजनिक रुपमा र साथीहरुसंग समेत भन्दै आएको हो । हाम्रो पार्टीमा अध्यक्ष सर्वसम्मत भइसक्नुभएको छ  । सहमतिकै आधारमा बाँकी पदाधिकारी टुंग्याउने कसरत हुन्छ । सहमति भए पनि निर्वाचन भए पनि महासचिवमा मेरो दाबी रहन्छ । ’ उनले भने ।

आफु चीनमा हुंदा पनि अध्यक्ष र वरिष्ठ नेताहरुलाई सझदारीबाट नेतृत्व चयन हुन्छ भने आफुले मान्छु भनेको तर, प्रतिस्पर्धा र  आन्तरिक जनवाद प्रयोग हुने खालको हो भने म पनि सहभागी हुन्छु त्यो अवसर आफुले पनि पाउनुपर्छ भनेर नेताहरुलाई भनेको बताए ।

उनले अहिलेको गठबन्धन सरकारका संविधानको रक्षा, लोकतन्त्र र परिवर्तनका एजेण्डाहरुको संरक्षण गर्न बनेको दावी गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले संविधान पटक पटक मिचेको आरोप उनले लगाए । पुनले अहिलेको गठबन्धन त्यसलाई जोगाउन बनेको र दलहरुको बीचमा विचारमा विविधता भएपनि मुल काममा फोकस हुनुपर्ने आफ्नो धारणा रहेको बताए ।

उनले ६ महिनाभन्दा बढी समय एमाले प्रतिक्रियात्मक भएको भन्दै अव एमालेलाई जिम्मेवार प्रतिपक्ष भएर प्रस्तुत हुन समेत आग्रह गरे ।

माओवादी केन्द्रले माघ २७ मा केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने तयारी छ । तर, दावेदार धेरै भएकाले माओवादी नेतृत्वलाई सहमतिमा पदाधिकारी चयन गर्न अफ्ठेरो परेको छ । सहमति नभएको अवस्थामा निर्वाचन गर्ने अध्यक्ष पुष्पकमल दाहालको तयारी छ ।

माओवादीमा पुनसहित शक्ति बस्नेत,जनार्दन शर्मा र पम्फा भुसाल महासचिवको प्रमुख दावेदार छन् । सिनियर नेताको हिसावले देव गुरुङलाई पनि महासचिवको रुपमा अघि सारिएको छ ।

पुन र शर्माले एक अर्कालाई स्विकार गर्ने अवस्था नभएको माओवादी स्रोत बताउंछ । त्यो अवस्थामा शक्ति बस्नेतको सम्भावना बढी छ । यसअघि शर्माले समेत बस्नेतलाई आफुलाई समर्थन गर्न आग्रह गरेका थिए । यदी त्यो सम्भव नभए आफुले नै प्रस्ताव गर्ने बताएको स्रोत बताउंछ ।

माओवादीभित्र शर्मा र पुनले अलग अलग गुट चलाएको आरोप छ । त्यसैले गुट भत्काउन अध्यक्ष दाहाललाई नेताहरुले सुझाव दिएका छन् । बस्नेत नभएको अवस्थामा गुरुङको सम्भावना बलियो छ । तर, पुन र शर्मा महासचिव बन्ने सम्भावना भने माओवादीमा कमजोर बन्दै गएको छ ।

माओवादी नेताहरु कृष्णबहादुर महरा,राम कार्की,हितराज पाण्डे,हरिवोल गजुरेल, हितराज पाण्डेलगायत नेताहरु तेस्रो विकल्पमा जानुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement