काठमाडौं – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अनन्तले रोल्पा बम विस्फोटमा दुःख व्यक्त गरेका छन् । मन्त्री पुनले बम विस्फोटबाट आएको मानवीय क्षतिबारे छानबिन गर्नसमेत सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पुनले शोक वक्तव्य जारी गर्दै घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग समन्वय भइरहेको जानकारी दिएका छन् ।
उनले घटनाबाट आफू मर्माहत भएको भन्दै विस्फोटमा ज्यान गुमाएकाका शोकाकुल परिवारमा समेवदना प्रकट गरेका छन् । विज्ञप्तिमा मन्त्री पुनले घटनाबारे सुरक्षाकर्मी, स्थानीय प्रशासन र जनप्रतिनिधिले गम्भीर छानबिन गरिरहेको जानकारी प्राप्त भएको र आफूले समेत समन्वय गरिरहेको उल्लेख गरेका छन् ।
‘यो दुःखद घटनाबाट आफ्ना परिवारका प्रिय सदस्य गुमाउनुपर्दा मर्माहन हुनुभएका शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु,’ मन्त्री पुनले विज्ञप्तिमा भनेका छन्, ‘उक्त घटनास्थलमा सुरक्षाकर्मी, स्थानीय प्रशासन र जनप्रतिनिधिले गम्भीर छानबिन गरिरहेको जानकारी प्राप्त भएको छ ।’




प्रतिक्रिया