राष्ट्रिय सम्मेलनमा वर्षमान आउन नसक्ने,माओवादी पदाधिकारी चयन तत्काल नहुने

राष्ट्रिय सम्मेलनमा वर्षमान आउन नसक्ने,माओवादी पदाधिकारी चयन तत्काल नहुने


काठमाण्डु-  माओवादी केन्द्रका नेता वर्षमान पुन तत्काल नेपाल नआउने भएका छन् । पुन माओवादी केन्द्रको आइतवारबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुन नपाउने निश्चित भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका पुन निकट नेता दुर्गा चापांगाईले पुन राष्ट्रिय सम्मेलनमा सहभागी नहुने निश्चित भएको जानकारी दिए ।

चीनको सेन्जेनमा कलेजोको उपचार गराइरहेका पुन माओवादीमा महासचिवको दावेदार हुन । उनको उपचार जारी भएकाले तत्काल उनि सम्मेलनमा आउन नसक्ने जानकारी अध्यक्ष पुष्पकमल दाहाललाई भइसकेको छ ।

माओवादीमा महासचिवका दावेदारमा पुनसहित शक्ति वस्नेत,जनार्दन शर्मा, कृष्णबहादुर महरा र पम्फा भुसाल छन् । पुनको उपस्थिती विना नेतृत्वको टुंगो नलगाउन माओवादी केन्द्रका अध्यक्ष दाहालमाथी दवाव परेको छ । पुन निकट नेता कार्यकर्ताले दाहाललाई उनलाई महासचिव बनाउन वा तत्काल पदाधिकारी चयन नगर्न दबाब दिएको स्रोतको दावी छ ।

पुनको उपस्थिती नहुने भएपछि माओवादीको राष्ट्रिय सम्मेलनले विधान,प्रतिवेदन पारित गर्ने र अध्यक्षमा दाहाललाई चुन्ने र पदाधिकारीको चयन पछि गर्ने सम्भावना बढेको एक नेताले बताए ।