अखण्ड भारत नक्सामा नेपालको भूमि राखेको विषय सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत


काठमाण्डु – ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनमा राखेको भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी राखेको नेपाल सरकारको नोटिसमा रहेको जानकारी दिएका छन् ।

मंगलबार बसेको संसदको पूर्वाधार समितिको बैठकमा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयबारे बुझ्न बाँकी रहेको जानकारी दिए ।

बैठकमा समिति सदस्यले राखेको प्रश्नको जवाफमा उनले यस विषयबारे बुझ्न बाँकी रहेको भएपनि सरकारले नोटिस भने गरिसकेको बताएका हुन् । समिति सदस्यहरुले भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर राखिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यसबारे स्पष्ट पार्न अनुरोध गरेका छन् । नक्सामा नेपाल र पाकिस्तानका भू-भागसमेत उल्लेख छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उदघाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलबस्तु र लुम्बिनीलाई पनि भारतीय भुमी झै दर्शाउने गरी अंकित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement